काठमाडौं । कञ्चनपुरको दोधारा–चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुल महाकाली नदीको बाढीले भत्काएको छ।
बुधबार बिहान करिब ८ बजे महाकाली नदीमा आएको बाढीका कारण पुलको एक भाग भत्किएर नदीमा बगेको हो। एक टावर भाँचिएपछि पुलको केही भाग नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन्। प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१३ तर्फको छैटौँ नम्बर र दोधारा–चाँदनीतर्फको तेस्रो नम्बरको भाग भत्किएको हो।
सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक जगतप्रसाद जोशीका अनुसार पुलमा पुगेको क्षतिको अध्ययनका लागि प्राविधिक टोली पठाउने तयारी भइरहेको छ। प्राविधिक टोलीले स्थलगत अध्ययन गरेपछि मात्रै क्षतिको वास्तविक अवस्था यकिन हुने उनले बताए।
२०६१ सालमा निर्माण सम्पन्न भएको उक्त पुलमा बुधबार बिहानैदेखि समस्या देखिएको स्थानीयले बताएका छन्। महाकाली अनलाइनका प्रबन्धक खडक रावलका अनुसार बिहान करिब ४–५ बजेतिर पुलबाट आवतजावत गर्ने स्थानीयले पुलको एक भाग अस्वाभाविक रूपमा माथि उठेको देखेका थिए। त्यसबारे प्रहरीलाई जानकारी गराइएको थियो। तर बिहान करिब ८ बजेतिर माथि उठेको उक्त भाग नदीमा खसेको रावलले बताए।
पुलको बीचको भाग भत्किएपछि दोधारा–चाँदनी र भीमदत्तनगरबीचको पैदल तथा आवतजावतको बाटो बन्द भएको छ। अब स्थानीयले आवतजावतका लागि करिब दुई किलोमिटर माथि पुगेर पक्की पुल प्रयोग गर्नुपर्ने अवस्था आएको बताइएको छ।