काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र पहिरोबाट क्षतिग्रस्त भौतिक संरचनाको प्राविधिक अध्ययन तथा जोखिम मूल्याङ्कनका लागि नेपाल इन्जिनियर्स एसोसिएसनले १५० भन्दा बढी इन्जिनियर तथा आर्किटेक्ट परिचालन गरेको छ।
बाढी प्रभावित स्थानीय तहबाट प्राविधिक सहयोगका लागि आएको अनुरोधका आधारमा एसोसिएसनले विभिन्न विधाका विज्ञलाई स्थलगत अध्ययनमा खटाएको हो। एसोसिएसनका केन्द्रीय सदस्य तथा सूचना अधिकारी इन्जिनियर यमकृष्ण पौडेलका अनुसार हालसम्म १२ वटा स्थानीय तहबाट प्राविधिक सहयोगका लागि अनुरोध आएको छ।
स्थानीय तहबाट आवश्यकताबारे जानकारी प्राप्त भएपछि सम्बन्धित क्षेत्रमा विज्ञ टोली पठाएर क्षतिग्रस्त संरचनाको अवस्था अध्ययन, जोखिम पहिचान तथा तत्काल गर्नुपर्ने कामबारे प्राविधिक सुझाव दिने काम भइरहेको पौडेलले बताए।
एसोसिएसनले बाढी प्रभावित क्षेत्रमा प्राविधिक सहजीकरणका लागि आठ वटा विषयगत समिति गठन गरेको छ। ती समितिमार्फत पूर्वाधारको क्षति पहिचान, संरचनागत सुरक्षा परीक्षण, जोखिम विश्लेषण, प्राथमिकता निर्धारण तथा सुरक्षित पुनर्स्थापना र पुनर्निर्माणका लागि आवश्यक प्राविधिक सुझाव दिने काम भइरहेको छ।
भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र पहिरोले विभिन्न स्थानीय तहका बस्ती, सडक, पुल, भवन, खानेपानी तथा सरसफाइका संरचना, सञ्चारलगायतका पूर्वाधारमा क्षति पुर्याएको थियो।
विपद्पछिको पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्राविधिक रूपमा सुरक्षित र प्रभावकारी बनाउन एसोसिएसनले स्वयंसेवी इन्जिनियर तथा आर्किटेक्ट परिचालन गर्ने निर्णय गरेको थियो।
एसोसिएसनले पूर्वाधार विकास मन्त्रालयसँगको समन्वयमा विषयगत समितिमार्फत काम गरिरहेको जनाएको छ। समितिहरूले सम्बन्धित क्षेत्रको प्राविधिक सूचना संकलन, क्षतिको प्रारम्भिक पहिचान, जोखिम विश्लेषण तथा पुनर्स्थापना र पुनर्निर्माणका लागि आवश्यक प्राविधिक सहजीकरण गरिरहेका छन्।