विराटनगर । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार शुक्रबार बिहान १० बजे कोशी ब्यारेजमा प्रतिसेकेन्ड १ लाख ९८ हजार २२० क्युसेक पानीको बहाव मापन हुँदा २५ वटा ढोका खोलिएका थिए।
त्यसपछि दिउँसो १ बजे पानीको बहाव बढेर प्रतिसेकेन्ड २ लाख २९ हजार ९६० क्युसेक पुगेपछि ३० वटा ढोका खोलिएको थियो। दिउँसो २ बजे बहाव थप बढेर प्रतिसेकेन्ड २ लाख ४० हजार ५५५ क्युसेक पुगेपछि ३१ वटा ढोका खोलिएको खड्काले जानकारी दिए।
कोशी ब्यारेजमा पानीको बहाव १ लाख ५० हजार क्युसेक नाघेपछि जोखिमको सङ्केतस्वरूप पश्चिमतर्फ रातो बत्ती बालेर सर्वसाधारणलाई सचेत गराउने गरिन्छ।
जलसतह निरन्तर बढिरहेको भन्दै सप्तकोशी आसपासका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र जोखिमपूर्ण क्षेत्रमा नजान प्रशासनले आग्रह गरेको छ। तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन तथा कोशी नदीमा माछा मार्ने र दाउरा सङ्कलन नगर्नसमेत अनुरोध गरिएको छ।
वर्षा हुने क्रम अझै जारी रहेकाले नदीमा पानीको बहाव थप बढ्न सक्ने प्रहरीले जनाएको छ।
कोशी ब्यारेजमा ५२ वटा मूल ढोका र चारवटा नहर गरी जम्मा ५६ वटा ढोका रहेका छन्।