विराटनगर- सुनसरीको बर्जु गाउँपालिका-१ मा गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अपांगता भएका तथा अशक्त सेवाग्राहीका लागि सञ्चालन गरिएको निःशुल्क सिटी सफारी सेवा प्रभावकारी बन्दै गएको छ। वडा कार्यालयसम्म आउजाउ गर्न समस्या हुने नागरिकलाई लक्ष्य गरी सुरु गरिएको यो सेवाले सार्वजनिक यातायातको अभाव र आर्थिक तथा शारीरिक कठिनाइका कारण वडा कार्यालयसम्म पुग्न नसक्ने सेवाग्राहीलाई सहजता प्रदान गरेको छ।
वडा कार्यालयमा फोन गरेर सेवा माग गरेपछि सिटी सफारी सेवाग्राहीको घरमै पुग्ने र वडा कार्यालयसम्म ल्याउने व्यवस्था गरिएको छ। सेवाग्राहीले वडा कार्यालयमा आफ्नो काम सकेपछि पुनः घरसम्मै फर्किन सक्ने व्यवस्था मिलाइएको छ।
वडाका विपन्न तथा असहाय नागरिकलाई सरकारी सेवा लिन वडा कार्यालयसम्म आउन सहज वातावरण बनाउने उद्देश्यले वडाध्यक्ष दिलबहादुर गुरुङको पहलमा गत वैशाखदेखि यो सेवा सुरु गरिएको थियो। सार्वजनिक यातायातको सीमित पहुँचका कारण विशेषगरी गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अपांगता भएका र अशक्त नागरिकले वडा कार्यालयसम्म पुग्न कठिनाइ भोग्दै आएका थिए। उनीहरूको यही समस्या समाधान गर्न निःशुल्क सिटी सफारी सञ्चालनमा ल्याइएको हो।
गाउँपालिकाबाट प्राप्त चार लाख रुपैयाँ बजेटबाट चालकसहित सिटी सफारीको व्यवस्था गरिएको हो। सफारी चार्ज गर्न वडा कार्यालय परिसरमै चार्जिङको व्यवस्था गरिएको छ।
नागरिकको आवश्यकता पहिचान गरी स्थानीय स्रोतको प्रयोगबाट सुरु गरिएको यो सेवाले विशेष अवस्थाका सेवाग्राहीलाई वडा कार्यालयसम्म पुग्न सहज बनाएको छ। घरबाट वडा कार्यालय र वडा कार्यालयबाट पुनः घरसम्मको आवतजावत सहज बनाउँदै बर्जु-१ ले लक्षित वर्गलाई सरकारी सेवाको पहुँचमा जोड्ने प्रयास गरेको हो।