काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले विपद्बाट भएको ठूलो क्षतिको पुनर्स्थापना र पुनर्निर्माणका लागि नेपालले अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था रहेको बताएका छन्। उनले क्षतिको विस्तृत मूल्याङ्कनपछि आवश्यक योजना र सहयोगको खाका तयार गरी दाता सम्मेलन गर्नेसम्मको संकेत गरेका छन्।
परराष्ट्र मन्त्रालयको प्रेस ब्रिफिङमा शनिबार मन्त्री खनालले सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य पूर्वाधारमा व्यापक क्षति पुगेको जानकारी दिए।
उनका अनुसार विपद्पछि भारतबाट हालसम्म ५७ टनभन्दा बढी राहत सामग्री प्राप्त भएको छ भने चीन, जापान र अष्ट्रेलियालगायतका देशबाट पनि अत्यावश्यक सामग्री सहयोग भइरहेको छ।
मन्त्री खनालले विदेशी सहयोग अस्वीकार गरिएको भन्ने समाचार निराधार र झुटा भएको दाबी गर्दै विभिन्न देशका समकक्षीसँग राहत तथा विपद् व्यवस्थापनबारे प्रत्यक्ष संवाद भइरहेको बताए।