विराटनगर । युवाको नेतृत्व क्षमता विकास तथा सामाजिक सहभागिता बढाउने उद्देश्यले बुढीगङ्गा गाउँपालिकामा अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको छ।
बुढीगङ्गा गाउँ युवा परिषद्को आयोजना तथा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्यमा साउन २१ गतेदेखि २७ गतेसम्म विविध गतिविधि सञ्चालन गरिएको हो।

कार्यक्रमको शुभारम्भसँगै आयोजना गरिएको युवा संवाद कुजेश कोइरालाको अध्यक्षता तथा रामप्रसाद महतोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। संवादमा विभिन्न संघ–संस्थामा आबद्ध युवाहरू सहभागी भएका थिए। कार्यक्रममा युवाका आवश्यकता, अवसर, नेतृत्व विकास, रोजगारी तथा सामाजिक क्षेत्रमा उनीहरूको भूमिकाबारे छलफल गरिएको थियो।
सप्ताहव्यापी अभियानमा जनप्रतिनिधिसँग युवा संवाद, युवा तथा विद्यार्थीका अधिकार र कर्तव्यसम्बन्धी अभिमुखीकरण, वृक्षरोपण, सरसफाइ तथा प्लास्टिक न्यूनीकरण अभियान सञ्चालन गरिएको थियो। त्यस्तै, विद्यार्थीहरूसँग अन्तरक्रिया र खुला वक्तृत्वकला प्रतियोगितामार्फत युवाको सिर्जनशीलता तथा अभिव्यक्ति क्षमतालाई प्रोत्साहन गरिएको आयोजकले जनाएको छ।

समापनका क्रममा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा सामाजिक क्षेत्रमा योगदान पुर्याउने खेलाडीलाई सम्मान गर्नुका साथै विभिन्न प्रतियोगिताका विजेतालाई पुरस्कारसमेत प्रदान गरिएको थियो।
सप्ताहभर सञ्चालन भएका गतिविधिले युवालाई समुदायसँग जोडिन, सामाजिक जिम्मेवारी बहन गर्न तथा स्थानीय विकासका काममा सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गरेको आयोजकको भनाइ छ।
कार्यक्रमको समापन कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद मेहताको प्रमुख आतिथ्यता तथा बुढीगङ्गा गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरको अध्यक्षतामा भएको थियो।

युवा, विद्यार्थी, जनप्रतिनिधि, विभिन्न संघ–संस्था तथा स्थानीय समुदायको सहभागितामा सम्पन्न कार्यक्रमले युवालाई विकासको साझेदारका रूपमा अघि बढाउन स्थानीय तहले थालेको प्रयासलाई थप बल पुगेको आयोजकले जनाएको छ।
