विराटनगर । नेपाल शिक्षक महासंघले आगामी भदौदेखि पुनः देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेको छ।
सरकारसँग यसअघि भएका सहमति कार्यान्वयन नभएको र विद्यालय शिक्षामा अपेक्षित सुधार नभएको भन्दै महासंघले निर्णायक आन्दोलनमा जाने निर्णय गरेको हो।
हालै सम्पन्न महासंघको परिषद् बैठकका निर्णय सार्वजनिक गर्दै शिक्षक नेताहरूले शैक्षिक तथा पेसागत माग पूरा गराउन आन्दोलनलाई अघि बढाउने बताएका छन्।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, शिक्षामा लगानी वृद्धि गर्नुपर्ने र विद्यालयमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने माग प्रमुख रहेको बताए।
उनले शिक्षकका हकहितसँगै समग्र विद्यालय शिक्षा सुधारका लागि सरकारलाई पटक–पटक ध्यानाकर्षण गराउँदै आए पनि माग सम्बोधन नभएकाले आन्दोलनको विकल्प रोज्नुपरेको बताए।
महासंघले आगामी आन्दोलनलाई प्रभावकारी र निर्णायक बनाउने तयारी थालेको जनाएको छ।