काठमाडाैं । विश्व स्वास्थ्य संगठन, युनिसेफ, विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका संस्थाको सहयोगमा मनाइने विश्व स्तनपान सप्ताह आजदेखि सुरु भएको छ।
यस वर्षको नारा ‘जीवनको दिगो सुरुआतका लागि स्तनपानः प्रभावकारी अभ्यासलाई थप सुदृढ बनाऔँ’ रहेको छ।
सप्ताहका अवसरमा स्तनपान प्रवर्द्धन गर्दै आमा र नवजात शिशुलाई स्वास्थ्य सेवा, परामर्श, समुदायको सहयोग तथा स्तनपानमैत्री वातावरण उपलब्ध गराउन जोड दिइएको छ।
डब्ल्युएचओका अनुसार आमाको दूध शिशुको स्वास्थ्यका लागि सबैभन्दा सुरक्षित र प्रभावकारी पोषण स्रोत हो। यसले शिशुको रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्छ।
नियमित स्तनपानले आमाको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्ने जनाइएको छ। यसले स्तन तथा डिम्बाशयको क्यान्सर र टाइप–२ मधुमेहको जोखिम घटाउन सहयोग पुर्याउँछ।
डब्ल्युएचओ र युनिसेफले स्तनपान सेवा विस्तार, दक्ष परामर्श, सशुल्क प्रसूति बिदा, स्तनपानमैत्री कार्यस्थल र आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने उत्पादनको अनियन्त्रित प्रवर्द्धन नियन्त्रण गर्न सबै देशलाई आग्रह गरेका छन्।