विराटनगर । सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न स्थानमा लगाइएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाएको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले जारी गरेको सूचना अनुसार आज बिहान ८:३० बजेदेखि साँझ ५:०० बजेसम्मका लागि कर्फ्यु हटाइएको हो।
कर्फ्यु हटाइए पनि जिल्लाको शान्ति–सुरक्षा अवस्था कायम राख्न स्थानीय प्रशासन ऐन, २०२८ अनुसार विभिन्न क्षेत्रमा निषेधाज्ञा लागू गरिएको प्रशासनले जनाएको छ।
निषेधाज्ञा अवधिभर तोकिएका क्षेत्रमा एकै स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन वा जम्मा हुन नपाइने व्यवस्था गरिएको छ।
निषेधाज्ञा इटहरी उपमहानगरपालिका–१६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, रामधुनी नगरपालिका–१ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, साथै इनरुवा, दुहवी, भोक्राहा नरसिंह, कोशी, गढी, देवानगञ्ज, हरिनगर र बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा लागू गरिएको प्रशासनले जनाएको छ।
यसअघि साउन १२ गते राति ९:०० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु आदेश लागू गरिएको थियो।
प्रशासनले सर्वसाधारणलाई निषेधाज्ञाको पूर्ण पालना गर्न तथा शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।