स्थानीय सरकारको आगमनपछि धनपालथानमा खानेपानी क्षेत्रमा छलाङ

पारस मण्डल
शनिवार १३ असार, २०८३
२ घण्टाअघि

मोरङको धनपालथान गाउँपालिका वडा नम्बर ५ की नन्दनी सरदारलाई आज भन्दा केही वर्ष अगाडिसम्म पानीको धौधौ थियो । आसपासका १० घरका लागि एउटा मात्रै ट्युबेल थियो । बिहानैदेखि गाग्री र बाल्टिन बोकेर लाइन बस्नुपर्थ्यो । दिनरात चलाउँदा ट्युबेल बिग्रन्थ्यो । कल बिग्रिएर पानी नआउँदा टाढासम्म धाउनुपर्ने र एउटा ट्युबेलमा दर्जनौँ परिवार निर्भर हुनुपर्ने बाध्यता थियो ।

‘१० वटा घरले एउटै कल चलाउनुपर्दा गाह्रो हुन्थ्यो, पानी पिउन, लुगा धुन र नुहाउन निकै कठिन हुन्थ्यो,’ विगत सम्झिँदै उनी भन्छिन् । तर केही वर्षअघिसम्म एउटा ट्युबेलमा पालो कुरेर पानी भर्नुपर्ने बाध्यता अहिले इतिहासजस्तै बनेको छ । अहिले अधिकांश घरआँगनमै ट्युबेल पुगेका छन्, कतिपय बस्तीमा धाराबाट शुद्ध पानी आउँछ, विद्यालय र स्वास्थ्य संस्थामा पानी फिल्टर जडान भएका छन् ।

Advertisement

विशेषगरी धनपालथान गाउँपालिकाले खानेपानी क्षेत्रमा योजनाबद्ध लगानी र निरन्तर प्रयास जारी राखेपछि अवस्था अहिले धेरै हदसम्म परिवर्तन भएको सरदार बताउँछिन् । ‘पहिलेको गाह्रो हेरेर धेरै नै सहज भएको छ,’ सरदार भन्छिन्, ‘यसका लागि पालिका प्रमुखज्यूसहित जनप्रतिनिधिले पहल गर्नु नै भएको छ । कहिले ट्युबेल वितरण त कहिले खानेपानीको पाइप बिछ्याउने काममा उहाँहरूको योगदान छ ।’

मोरङको दक्षिणी क्षेत्रमा अवस्थित धनपालथान गाउँपालिका कृषि, व्यापार, सामाजिक तथा सांस्कृतिक विविधताले परिचित स्थानीय तह हो । करिब ४८.९४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस गाउँपालिकामा विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिका समुदायको बसोबास रहेको छ । साविकका नोचा, कदमाहा, दादरबैरिया, अमाही बरियाती र सोराभाग गाविसलाई समेटेर वि.सं. २०७३ सालमा गाउँपालिका गठन गरिएको हो । साविकको कदमाहा गाविसमा रहेको ऐतिहासिक राजा धनपालथानको मन्दिरबाट धनपालथान गाउँपालिकाका रूपमा नामकरण हुनुभन्दा अगाडिसम्म यहाँका नागरिकको एउटा ठुलो समस्याका रूपमा थियो, खानेपानी ।

खानेपानी नेपालको संविधानले सुनिश्चित गरेको मौलिक तथा मानवीय अधिकार हो । स्वच्छ र सुरक्षित खानेपानी प्रत्येक नागरिकको आधारभूत आवश्यकता मात्र होइन, यो मानवीय अधिकार पनि हो । यसै कुरालाई मध्यनजर गरेर धनपालथान गाउँपालिका सुरक्षित तथा स्वच्छ पिउने पानी गाउँपालिकाबासीको घरघर पुर्‍याउन कम्मर कसेर लागेको थियो ।

संविधानिक मर्मबमोजिम पालिकाले खानेपानी पूर्वाधार निर्माण, पाइपलाइन विस्तार, पानी शुद्धीकरण, गुणस्तर परीक्षण तथा सरसफाइ प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । पालिकाले खानेपानी सेवा नागरिकको घरदैलोमै पुर्‍याउने प्रयासलाई तीव्रता दिँदा जनस्वास्थ्य सुधार आएको छ ।

व्यवस्था परिवर्तनसँगै खानेपानीमा व्यापक सुधार

संघीयता कार्यान्वयनसँगै स्थानीय सरकार गठन भएपछि धनपालथान गाउँपालिकाले खानेपानीलाई विकासको प्रमुख प्राथमिकतामध्ये एक बनायो । पाइपलाइन विस्तार, ट्युबेल वितरण, आधुनिक पानी शुद्धीकरण फिल्टर जडान, विद्यालय तथा स्वास्थ्य संस्थामा सुरक्षित पिउने पानीको व्यवस्था, पानीको गुणस्तर परीक्षण तथा जनचेतनामूलक कार्यक्रमलाई योजनाबद्ध रूपमा अघि बढाइयो । त्यसको प्रभाव अहिले गाउँपालिकाका अधिकांश वडामा प्रत्यक्ष महसुस गर्न सकिन्छ । पहिले पानीको अभावसँग जुध्ने नागरिक अहिले सुरक्षित र गुणस्तरीय खानेपानीतर्फ उन्मुख भएका छन्।

यस परिवर्तनको एउटा प्रतिनिधि उदाहरण हो वडा नं. ४ स्थित कर्सिया खानेपानी उपभोक्ता तथा सरसफाइ समिति । २०५७ सालमा स्थापना भए पनि २०७२ सालदेखि नियमित रूपमा सञ्चालनमा आएको यस योजनाले सुरुमा करिब २० घरधुरीलाई सेवा दिँदै आएको थियो । अहिले भने तीन सयभन्दा बढी घरधुरीसम्म शुद्ध खानेपानी पुर्‍याइरहेको छ । विगत करिब १२ वर्षदेखि यस क्षेत्रका स्थानीयले नियमित रूपमा धाराबाट पानी उपभोग गर्दै आएका छन् ।

समितिका अध्यक्ष खेमराज लोहनीका अनुसार स्थानीय सरकार गठनपछि गाउँपालिकाले खानेपानी योजनालाई निरन्तर सहयोग गरेकै कारण सेवा विस्तार सम्भव भएको हो । उनका अनुसार बजेट व्यवस्थापनदेखि पाइप विस्तार, मर्मतसम्भार र पानी शुद्धीकरणसम्म गाउँपालिकाले निरन्तर साथ दिएको छ ।

स्थानीय सरकारको सक्रियताको सबैभन्दा ठूलो उदाहरण हुलाकी सडक निर्माणका क्रममा देखिएको थियो । करिब तीन वर्षअघि कर्सिया बजार क्षेत्रमा मुख्य पाइपलाइन क्षतिग्रस्त हुँदा झण्डै २०० परिवार खानेपानी सेवाबाट बञ्चित भएका थिए । यस्तो अवस्थामा गाउँपालिकाका अध्यक्ष जीवछप्रसाद गच्छदारको पहलमा हुलाकी सडक विभाग, इटहरी र प्रदेश सरकारसँग समन्वय गरी करिब ३,५०० फिट नयाँ पाइप बिछ्याइयो । करिब १० लाख रुपैयाँको लागतमा सम्पन्न उक्त योजनापछि पुनः नियमित रूपमा खानेपानी वितरण सुरु भयो । यसले स्थानीय सरकार समस्या समाधानमा कति सक्रिय छ भन्ने स्पष्ट देखायो ।

खानेपानी सेवाको विस्तार अहिले पनि निरन्तर जारी छ । आर्थिक वर्ष २०८१/८२ मा मात्रै वडा नं. ४ मा पाँच लाख रुपैयाँ विनियोजन गरी करिब तीन किलोमिटर नयाँ पाइपलाइन विस्तार गरिएको छ । धनपालथान-३ बीपी चोकदेखि दक्षिण सिमराही फिल्ड हुँदै पूर्वमेयर हरिलाल सिंहको गाउँसम्म नयाँ लाइन विस्तार गरिएको छ । कर्सिया बजारस्थित पेट्रोल पम्पदेखि दक्षिणतर्फ थप करिब डेढ किलोमिटर पाइप बिछ्याइएको छ । हाल पनि विस्तारको काम जारी रहेको गाउँपालिकाले जनाएको छ ।

वडा नं. ५ मा पनि पाँच लाख रुपैयाँको लागतमा पाइपलाइन विस्तार सम्पन्न भइसकेको छ भने घरधुरीमा धारा जडानको प्रक्रिया अघि बढिरहेको छ । यसले बिस्तारै ट्युबेलमा निर्भरता घटाउँदै सुरक्षित पाइपमार्फत खानेपानी उपलब्ध गराउने लक्ष्यलाई अघि बढाइरहेको छ ।

गाउँपालिकाले ट्युबेल वितरणलाई पनि प्राथमिकतामा राखेको छ । वडा नं. ४ का अध्यक्ष श्रीराम चौधरीका अनुसार प्रत्येक वर्ष हरेक वडामा करिब ३० वटा ट्युबेल वितरण हुँदै आएको छ । खानेपानी, सरसफाइ तथा सिँचाइ शाखाका प्रमुख अनिल कुमार सिंहका अनुसार गाउँपालिकाले वार्षिक रूपमा एक सयभन्दा बढी ट्युबेल वितरण गरिरहेको छ । वडा नं. ५ का अध्यक्ष गयानन्द सरदारका अनुसार गाउँपालिका स्थापना भएयता वडा नं. ५ मा मात्रै पाँच सयभन्दा बढी ट्युबेल वितरण भइसकेका छन् ।

ट्युबेल वितरणले विशेषगरी विपन्न तथा ग्रामीण बस्तीका नागरिकको दैनिक जीवनमा ठूलो परिवर्तन ल्याएको छ । पानीका लागि घण्टौँ समय खर्चिनुपर्ने अवस्था अन्त्य हुँदै गएको छ । महिलाको श्रम घटेको छ भने बालबालिकाले पनि समयमै विद्यालय जान पाएका छन् । सरसफाइमा सुधार आउँदा स्वास्थ्यसम्बन्धी जोखिमसमेत घट्दै गएको स्थानीयहरू बताउँछन् ।

धनपालथान गाउँपालिकाले खानेपानीको पहुँच मात्रै बढाएको छैन, पानीको गुणस्तर सुधारमा पनि विशेष ध्यान दिएको छ । गाउँपालिकाको पहलमा प्रदेश सरकारको करिब ३५ लाख रुपैयाँको लगानीबाट कर्सिया खानेपानी योजनामा आधुनिक पानी शुद्धीकरण फिल्टर जडान गरिएको छ । करिब एक लाख लिटर क्षमता भएको ट्यांकीमा जडान गरिएको उक्त फिल्टरले पानीलाई अझ सुरक्षित र गुणस्तरीय बनाएको छ ।

अध्यक्ष खेमराज लोहनीका अनुसार फिल्टर जडानपछि उपभोक्ताले पहिलेभन्दा धेरै सफा र सुरक्षित पानी उपभोग गरिरहेका छन् । गाउँपालिकाले खानेपानी योजनामा सौर्य ऊर्जा प्रणालीसमेत जडान गरिदिएको छ, जसले सञ्चालन खर्च घटाउनुका साथै सेवा नियमित बनाउन सहयोग पुर्‍याएको छ ।

कर्सिया बजारस्थित बाबा होटल सञ्चालक……………..का अनुसार फिल्टर जडानपछि पानीको गुणस्तरमा उल्लेखनीय सुधार आएको छ । “पहिला कहिलेकाहीँ धमिलो पानी आउँथ्यो । सरसफाइ गर्दा माटो मिसिएर पनि आउँथ्यो । अहिले पानी निकै सफा आउँछ । यही पानी प्रयोग गरेर खाना पकाउँदा तरकारी कालो हुँदैन। ग्राहकलाई पिउन पनि यही पानी दिन्छौँ र अहिलेसम्म कुनै गुनासो आएको छैन,” उनले भने ।

विद्यालय र स्वास्थ्य संस्थालाई सुरक्षित खानेपानीसँग जोड्ने अभियान पनि गाउँपालिकाले समानान्तर रूपमा अघि बढाइरहेको छ । गाउँपालिकाभित्रका विभिन्न विद्यालय तथा स्वास्थ्य संस्थामा पानी फिल्टर जडान गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत रिता खतिवडाका अनुसार चालु आर्थिक वर्षभित्र सबै विद्यालयमा शुद्ध पिउने पानीका लागि फिल्टर वितरण गर्ने योजना रहेको छ । साथै सुरक्षित खानेपानी, सरसफाइ तथा व्यक्तिगत स्वच्छतासम्बन्धी जनचेतनामूलक कार्यक्रम पनि प्रत्येक वडामा सञ्चालन भइरहेका छन् ।

गर्भवती महिला तथा सुत्केरी आमाको स्वास्थ्यलाई लक्षित गरी गाउँपालिकाले पटक–पटक वाटर फिल्टर वितरण गर्दै आएको छ । गाउँपालिका उपाध्यक्ष नशीमा बानोका अनुसार आगामी दिनमा पनि यो कार्यक्रमलाई निरन्तरता दिइनेछ । गाउँपालिकाले पोषणमैत्री टोल तथा पोषणमैत्री स्थानीय तह निर्माण अभियानअन्तर्गत सुरक्षित खानेपानी, सरसफाइ र स्वास्थ्य प्रवर्द्धनलाई एकीकृत रूपमा अघि बढाएको छ ।

संघीय सरकारको WASH कार्यक्रमअन्तर्गत प्राप्त बजेटमार्फत पनि खानेपानी, सरसफाइ तथा सिँचाइ क्षेत्रमा थप सुधारका कार्यक्रम सञ्चालन भइरहेका छन् । गर्भवती महिलाको स्वास्थ्यलाई ध्यानमा राख्दै विभिन्न ट्युबेलको पानीमा आइरन परीक्षण तथा गुणस्तर अनुगमन अभियान सञ्चालन गर्नु गाउँपालिकाको अर्को उल्लेखनीय प्रयास हो ।

यद्यपि, केही चुनौती अझै बाँकी छन् । कर्सिया खानेपानी संस्थाको ट्यांकीमा चढ्ने सिँढी जीर्ण अवस्थामा छ । संस्थासँग पर्याप्त कार्यालय भवन तथा सामग्री भण्डारण गर्ने स्टोर भवन छैन । हाल दुई जना कर्मचारीले नियमित रूपमा सेवा सञ्चालन गरिरहेका छन् । यी पूर्वाधारलाई थप व्यवस्थित बनाउने योजना गाउँपालिका र उपभोक्ता समितिले बनाएका छन् ।

गत वर्षको भदौमा भएको जेनजी आन्दोलनपछि केही स्थानमा खानेपानीका पाइपलाइन तथा संरचनामा क्षति पुगेको थियो । जसको मर्मत, पुनःनिर्माण र नयाँ फिल्टर जडानको आवश्यकता देखिएको छ । त्यसैगरी केही सामुदायिक विद्यालयमा अझै शुद्ध पिउने पानीको पर्याप्त व्यवस्था हुन सकेको छैन । वडा नं. २, ५ र ७ का स्वास्थ्य चौकीमा पनि सुरक्षित खानेपानी सेवाको थप विस्तार आवश्यक रहेको सरोकारवालाहरू बताउँछन् ।

स्थानीयवासीले प्रत्येक वडामा कम्तीमा एउटा खानेपानी ट्यांकी निर्माण, खानेपानी क्षेत्रमा थप बजेट विनियोजन, पाइपलाइन विस्तार, नियमित पानी परीक्षण र जनचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

गाउँपालिका अध्यक्ष जीवछ प्रसाद गच्छदार “शुद्ध खानेपानी, स्वस्थ गाउँपालिकाबासी” केवल नारामात्र नभएर पालिकाकै विकासको दर्शन भएको बताउँछन् । उनी भन्छन्, ‘खानेपानीमा गरिएको लगानी नागरिकको स्वास्थ्यमा गरिएको लगानी हो । यसैले आगामी दिनमा पनि सबै वडामा सुरक्षित र शुद्ध खानेपानीको पहुँच सुनिश्चित गर्छु । मेरो यो अभियानलाई अझ तीव्र बनाउँछु ।’

स्थानीय सरकार गठनअघि पानीको अभाव र असुविधाको प्रतीक बनेको धनपालथान आज विस्तारै सुरक्षित खानेपानीतर्फको यात्रामा अगाडि बढिरहेको छ । ट्युबेलदेखि पाइपलाइन, फिल्टरदेखि गुणस्तर परीक्षण, विद्यालयदेखि स्वास्थ्य संस्था र घरआँगनसम्म पुगेको खानेपानी सेवाले देखाएको परिवर्तनले एउटा सन्देश स्पष्ट दिएको छ, स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार हुँदा विकासका परिणाम पनि नागरिकको जीवनमा प्रत्यक्ष देखिन्छन् ।

केही वर्षअघि एउटै ट्युबेलको पालो पर्खेर दिन बिताउने नन्दनी सरदार आज आफ्नै घरआँगनमा सहज रूपमा पानी प्रयोग गरिरहेकी छन् । उनको यो अनुभव कुनै एक व्यक्तिको कथा मात्र होइन, धनपालथान गाउँपालिकाले स्थानीय सरकार गठनपछि खानेपानी क्षेत्रमा गरेको लगानी र त्यसबाट आएको परिवर्तनको प्रतिनिधि चित्र हो ।

तथापि, अझै सबै समस्या समाधान भइसकेका छैनन् । कतै नयाँ पाइपलाइन आवश्यक छ, कतै फिल्टर जडान गर्न बाँकी छ, कतै विद्यालय र स्वास्थ्य संस्थामा सुरक्षित खानेपानीको पहुँच विस्तार गर्नुपर्नेछ । तर, विगतसँग वर्तमानलाई तुलना गर्दा धनपालथानले छोटो समयमै उल्लेखनीय फड्को मारेको देखिन्छ ।

अझै केही चुनौती बाँकी भए पनि योजनाबद्ध लगानी, प्रभावकारी व्यवस्थापन र नागरिकको सहभागिताले धनपालथान गाउँपालिकालाई सुरक्षित, स्वच्छ र दिगो खानेपानी व्यवस्थापनको नमुना स्थानीय तह बनाउने आधार दिनप्रतिदिन बलियो बनाइरहेको छ । खानेपानीमा गरिएको लगानीलाई स्वास्थ्य, शिक्षा, आर्थिक विकास र सामाजिक समृद्धिमा गरिएको दीर्घकालीन लगानीका रूपमा समेत हेरिन्छ ।

खानेपानीमा गरिएको लगानीको प्रतिफल तत्काल देखिने पूर्वाधारमा मात्र सीमित हुँदैन । त्यसको असर स्वस्थ नागरिक, उत्पादक श्रमशक्ति, गुणस्तरीय शिक्षा, सुरक्षित मातृत्व र समृद्ध समाज निर्माणसम्म फैलिन्छ । त्यसैले धनपालथानले थालेको यो अभियानलाई निरन्तरता दिनु केवल विकासको आवश्यकता मात्र होइन, संविधानले सुनिश्चित गरेको नागरिकको मौलिक अधिकारको पूर्ण कार्यान्वयन पनि हो । आज धारामा बगेको स्वच्छ पानीले भोलिको स्वस्थ र समृद्ध धनपालथानको आधार निर्माण गरिरहेको छ ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

मोरङ कारागारमा अभिषेक गिरीको पक्ष-विपक्षमा प्रदर्शन

शनिवार १३ असार, २०८३
४ घण्टाअघि

आफ्नै छोराको कुटपिटबाट आमाको मृत्यु, आरोपी पक्राउ

शनिवार १३ असार, २०८३
१० घण्टाअघि

आईसीसी विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा

शनिवार १३ असार, २०८३
१४ घण्टाअघि

१ अर्बको लगानीमा विराटनगरमा विश्वस्तरीय क्याम्पस, बीआईसीले ल्यायो दुई अन्तर्राष्ट्रिय कोर्स

शुक्रबार १२ असार, २०८३
१ दिनअघि

बर्जु–३ मा सिलाइ–बुनाइ तालिम सम्पन्न, महिलालाई आत्मनिर्भर बनाउन सिलाइ मेसिन हस्तान्तरण

शुक्रबार १२ असार, २०८३
१ दिनअघि

स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १८ घाइते

शुक्रबार १२ असार, २०८३
१ दिनअघि
स्थानीय सरकारको आगमनपछि धनपालथानमा खानेपानी क्षेत्रमा छलाङ
शनिवार १३ असार, २०८३
मोरङ कारागारमा अभिषेक गिरीको पक्ष-विपक्षमा प्रदर्शन
शनिवार १३ असार, २०८३
आफ्नै छोराको कुटपिटबाट आमाको मृत्यु, आरोपी पक्राउ
शनिवार १३ असार, २०८३
विश्वकपको नकआउट चरणमा अर्जेन्टिनासँग केप भेर्डेको ऐतिहासिक भिडन्त
शनिवार १३ असार, २०८३
आईसीसी विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा
शनिवार १३ असार, २०८३
१ अर्बको लगानीमा विराटनगरमा विश्वस्तरीय क्याम्पस, बीआईसीले ल्यायो दुई अन्तर्राष्ट्रिय कोर्स
शुक्रबार १२ असार, २०८३
बर्जु–३ मा सिलाइ–बुनाइ तालिम सम्पन्न, महिलालाई आत्मनिर्भर बनाउन सिलाइ मेसिन हस्तान्तरण
शुक्रबार १२ असार, २०८३
स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १८ घाइते
शुक्रबार १२ असार, २०८३
सुकुम्वासीलाई होल्डिङ सेन्टर खाली गर्न सात दिन म्याद थप
शुक्रबार १२ असार, २०८३
महामन्त्रीको दौडबाट किन पछि हटे खरेल ?
शुक्रबार १२ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०