विराटनगर । पश्चिमी तथा मध्य युरोपका विभिन्न देशहरूमा अत्यधिक गर्मीका कारण रेड अलर्ट जारी गरिएको छ।
फ्रान्समा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि सयौँ विद्यालय बन्द गरिएका छन् भने वैज्ञानिकहरूले बारम्बार देखिने यस्तो तातो हावाको लहरलाई ग्लोबल वार्मिङको स्पष्ट संकेतका रूपमा व्याख्या गरेका छन्।
यसैबीच, दक्षिणी फ्रान्सको कार्पेन्ट्रास सहरमा दुई बालबालिका आफ्नै कारभित्र मृत अवस्थामा फेला परेका छन्। प्रारम्भिक जानकारीअनुसार उनीहरू ३९ डिग्री सेल्सियसको गर्मीमा झ्याल बन्द गरिएको कारभित्र थुनिएका थिए।
जर्मनी, इटाली, स्विट्जरल्यान्ड र लक्जमबर्गले पनि अत्यधिक गर्मीका कारण रेड अलर्ट जारी गरेका छन्। मौसमविद्हरूका अनुसार साहारा मरुभूमिबाट उत्तरतर्फ सरेको तातो हावाले तापक्रम असामान्य रूपमा बढाएको छ। हालको हिटवेभ पछिल्ला वर्षहरूकै सबैभन्दा लामो हुन सक्ने अनुमान गरिएको छ।
मेटिओ–फ्रान्सका तथ्यांकअनुसार सन् १९४७ यता फ्रान्समा रेकर्ड गरिएका ५१ वटा हिटवेभमध्ये ३४ वटा सन् २००० पछि र २६ वटा सन् २०११ पछि मात्र भएका छन्।
बुधबार युरोपका धेरै क्षेत्रमा तापक्रम उच्च विन्दुमा पुग्ने अपेक्षा गरिएको छ। पेरिसमा तापक्रम ४१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।