विराटनगर ।देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र सञ्चालित सेन्ट्रल क्यान्टिनमा गुणस्तरहीन तथा अखाद्य खाद्यवस्तु प्रयोग भइरहेको भेटिएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त अनुगमन टोलीले शुक्रबार आकस्मिक निरीक्षण गर्दा‘जी एन्ड बी क्याफे ग्रुप’को भण्डारण कक्षबाट १७ किलोग्राम घुन परेको चनाको दाल, ११ किलोग्राम ओसिएर बिग्रिएको बदाम तथा प्रयोगका लागि अयोग्य अवस्थामा रहेका १४ वटा फुटेका अन्डा बरामद गरिएको हाे ।
विभागले अखाद्य तथा गुणस्तरहीन खाद्यवस्तु प्रयोग गरी उपभोक्ताको स्वास्थ्यमा जोखिम पुर्याएको भन्दै उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६(२)(क) विपरीत कार्य गरेको निष्कर्ष निकालेको छ।
सोही ऐनको दफा ३९(१)(ख) बमोजिम क्यान्टिन सञ्चालकलाई २ लाख १ हजार रुपैयाँ जरिबाना गरिएको विभागले जनाएको छ।