सुनसरी — सुनसरी जिल्लाका दुई छुट्टाछुट्टै स्थानबाट ठूलो परिमाणमा प्रतिबन्धित औषधि ट्रामाडोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
आइतबार कोशी गाउँपालिका–१ स्थित क्षेत्रमा इलाका प्रहरी कार्यालय लौकही बाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका उदयपुर बेलका नगरपालिका–५ का सुदिप राउत र सुनसरी रामधुनी नगरपालिका–१ का सरोज खवासलाई जाँच गरेको थियो। उनीहरूले बोकेको झोलाबाट २ हजार ७ सय ७० क्याप्सुल ट्रामाडोल बरामद भएपछि दुवैलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
त्यसै दिन बराहक्षेत्र नगरपालिका–५ स्थित सडक किनारमा बेवारिसे अवस्थामा रहेको झोलाबाट थप ६ हजार २ क्याप्सुल ट्रामाडोल बरामद गरिएको छ।
बरामद औषधिको ओसारपसारमा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान जारी रहेको छ।