काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी बेल्जियममा हुने इयू टी–२० लिग खेल्ने भएका छन्। उनलाई जेबी ब्रुग्सले अनुबन्ध गरेको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको हो। जेबी ब्रुग्स एनपीएल फ्रेन्चाइज जनकपुर बोल्ट्स आबद्ध रहेको ड्रीम स्पोर्ट्सको स्वामित्वमा रहेको टोली हो। दीपेन्द्र भने नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्स बाट खेल्दै आएका छन्।
टोलीले यसअघि नै न्युजिल्यान्डका कलिन मनरो र दक्षिण अफ्रिकाका राशी भान डेर डुसेन लाई पनि अनुबन्ध गरिसकेको छ।
प्रतियोगिताको ड्राफ्ट मार्च २४ मा हुने तय गरिएको छ, जसमा १८ नेपाली खेलाडी पनि सहभागी हुनेछन्। बेल्जियम क्रिकेट फेडेरेसन सँगको सहकार्यमा डेस्टिनो लेजेन्ड्स स्पोर्ट्स एलएलसीले पहिलोपटक आयोजना गर्न लागेको यस प्रतियोगितामा ६ टोली सहभागी हुनेछन्।
यसैबीच, सहभागी टोलीमध्ये एक लियेज रेड लायन्स ले नेपाली लेगस्पिनर सन्दीप लामिछाने लाई अनुबन्ध गरिसकेको छ।