काठमाडौं— नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता तथा गण्डकी प्रदेश सभा सदस्य वेदबहादुर गुरुङले सूर्य चुनाव चिन्हमा चित्त नबुझे अर्को कम्युनिस्ट पार्टीको चुनाव चिन्हमा मत हाल्न आह्वान गरेका छन्।
गण्डकी प्रदेशका पूर्व मन्त्रीसमेत रहेका गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै सबैलाई एमालेको सूर्य चिन्हमा मत हाल्न आग्रह गरेका छन्। उनले यदि त्यहाँ पनि चित्त नबुझे नेपाल कम्युनिस्ट पार्टीको तारा चिन्हमा मत हाल्न आग्रह गर्दै अन्य पार्टीको चुनाव चिन्हमा मत नहाल्न अपिल गरेका छन्।
‘कम्युनिस्ट पार्टीको मत आ–आफ्नो पार्टीमा चित्त नबुझेको हो भने अर्को कम्युनिस्ट पार्टीमा हालौँ, बुर्जुवातिर सार्ने गल्ती नगरौँ। ठ्याक्कै भन्नुपर्दा सबैले मत एमालेको सूर्य चिन्हमा हालौँ, यदि त्यहाँ पनि चित्त नबुझेको हो भने नेकपाको तारा चिन्हमा हालौँ, तर अन्य पार्टीमा नहालौँ,’ गुरुङले उल्लेख गरेका छन्।