काठमाडौं — जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले चुनावी घोषणापत्रमा वैदेशिक रोजगारीलाई बाध्यता ठानेर आन्तरिक रोजगारी प्रवर्द्धनलाई राज्यको मुख्य दायित्व बनाउनुपर्ने उल्लेख गरेको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सार्वजनिक गरिएको घोषणापत्रमा पार्टीले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र लाभदायक बनाउने नीति अघि सारेको छ।
‘वैदेशिक रोजगारी’ शीर्षकअन्तर्गत आन्तरिक रोजगारीको प्रत्याभूति नहुञ्जेलसम्म विदेश जाने नेपाली श्रमिकलाई निःशुल्क (फ्री भिसा र फ्री टिकट) रोजगारी प्रदान गर्ने नीति लागू गरिने उल्लेख गरिएको छ। साथै, सीप विकास, प्रशिक्षण तथा रोजगारीमा जाँदा लाग्ने लागत खर्च रोजगारदाताबाट ग्यारेन्टी गराउने प्रतिबद्धता जनाइएको छ।
प्रमुख प्रतिबद्धताहरू:
-
वैदेशिक रोजगारमा रहेका श्रमिकहरूको सुरक्षित रोजगारी सुनिश्चित गरिने।
-
वैदेशिक रोजगारीमा जाने श्रमिकलाई निःशुल्क (फ्री भिसा र फ्री टिकट) रोजगारीको व्यवस्था गरिने।
-
विदेशमा रहेका नागरिकहरूको सुरक्षाको प्रत्याभूति गरिने।
-
विदेशबाट फर्केकाहरूलाई त्यहाँ सिकेको सीपका आधारमा स्वदेशमै रोजगारीको प्रबन्ध गरिने।
-
रेमिट्यान्स रकम औपचारिक बैंकिङ प्रणालीमार्फत भित्र्याउने र त्यसको महत्वपूर्ण अंश श्रमिकको विकास तथा संरक्षणमा खर्च गर्ने नीति अवलम्बन गरिने।
पार्टीले वैदेशिक रोजगारी रहर नभई बाध्यता भएको उल्लेख गर्दै यसलाई क्रमशः कम गर्दै आन्तरिक रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएको छ। उक्त नीतिले युवालाई विदेश पलायनबाट रोक्ने र फर्केकाहरूलाई स्वदेशमै आत्मनिर्भर बनाउने लक्ष्य राखेको जनाइएको छ।