काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारा वेदबाट प्रेरणा लिएर अघि सारेको बताएका छन्।
झापामा आयोजित एक धार्मिक अनुष्ठानलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वेदमा उल्लेख गरिएझैँ सबै मानिस सुखी होउन् र कसैले पनि दुःख नपाओस् भन्ने मान्यताबाट आफू प्रभावित भएको उल्लेख गरे। सोही भावना अनुरूप देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउने लक्ष्यसहित उक्त नारा अघि सारिएको उनले बताए।
‘मैले नेपाल कस्तो हुनुपर्छ भनेर सोच्दा हाम्रो देश धनी, सक्षम र समृद्ध हुनुपर्छ भन्ने लागेको हो। नेपाली जनता सुखी हुनुपर्दछ भन्ने चाहनासहित मैले “समृद्ध नेपाल, सुखी नेपाली” भनेको हुँ,’ ओलीले भने, ‘यो विचार हाम्रा वेदहरूले भनेको कुरासँग मेल खाने विषय हो।’
अध्यक्ष ओलीले विश्वलाई ज्ञान, सृष्टि र सभ्यताको योगदान दिने नेपालीका पूर्वजहरू नै रहेको दाबी गर्दै नेपाली समाजको ऐतिहासिक र सांस्कृतिक गौरवलाई जोगाउँदै अघि बढ्नुपर्नेमा जोड दिए। उनले धर्म, संस्कृति र विकासलाई एकअर्काको विरोधी नभई परस्पर पूरकका रूपमा बुझ्नुपर्ने धारणा पनि व्यक्त गरे।