विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मोरङ निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका कृष्णकुमार कार्कीले नेपाली कांग्रेसका सुनील शर्मासहित १० जनाविरुद्ध रिट दायर गरेका छन् । रतुवामाई नगरपालिका–९ ठकठकेमा अवस्थित श्री जनता माध्यमिक विद्यालयको नामकरणलाई लिएर कार्कीले मोरङ–३ का उम्मेदवारसमेत रहेका शर्मासहित १० जनाविरुद्ध रिट दायर गरेका हुन् ।
कार्की सोही विद्यालयका पूर्वविद्यार्थीसमेत हुन् । उनले एक वर्ष कक्षा ८ मा सोही विद्यालय पढेका कार्कीले पूर्वविद्यार्थी तथा निवर्तमान सांसद सुनील शर्मा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टुकबहादुर कार्की, प्रध्यानाध्यापक ईश्वर खनाल, रतुवामाईका नगरप्रमुख नागेश्वरप्रसाद सिंह, प्रमुख प्रशासकीय अधिकृत डम्मरुबल्लभ बराल, नगरपालिकाको शिक्षा शाखा, विकास समन्वय इकाई, क्षेत्रीय शिक्षा निर्देशनालय र शिक्षा मन्त्रालयविरुद्ध मुद्दा दायर गरेका छन् ।
सोही विद्यालयका पूर्वविद्यार्थीसमेत रहेका सुनील शर्माले आफ्नो मातापिताको नाम थपेर स्तरोन्नति गर्ने भन्दै गत वर्षको माघमा प्रस्ताव गरेका थिए । शर्माले भौतिक पूर्वाधार स्तररोन्नतिका लागि २ करोड रुपैयाँ आर्थिक सहयोग गरी आफ्ना माता–पिताको नाम थपेका थिए । १० वटा कक्षाकोठा र कम्प्युटर ल्याब बनाउने भन्दै शर्माले आर्थिक सहयोग उपलब्ध गराएपछि २०२२ सालमा स्थापित जनता माविको नाम फेरेर श्री जनता लोकनाथ–होमादेवी माध्यमिक विद्यालय बनाइएको थियो ।
गत कात्तिकमा विद्यालयको खातामा धरौटीबापतको दुई करोड रुपैयाँ जम्मा गरेका उनले गत पुस १९ गते औपचारिक कार्यक्रम गरी उक्त रकम प्रदान गरेका थिए । शर्माको आर्थिक प्रलोभनमा परी विद्यालय व्यवस्थापन समितिले विद्यालयको इतिहास नै मेटाउने निर्णयमा एक्लौटी सहमति गरेको भनी कार्कीले विद्यालय प्रशासनलमा गत मंसिर २३ गते निवेदन दिएका थिए ।
तर, विद्यालय प्रशासनले अभिभावक, नागरिक अगुवा र सरोकारवालाले आम भेलामार्फत् सहमति जनाइसकेको विषयमा थप निर्णय गर्न नसकिने जनाएको थियो । त्यसविरुद्ध गत पुस २४ गते उनले उच्च अदालतमा रिट दायर भएको उच्च अदालतका सूचना अधिकारी सन्तोष पोखरेलले जानकारी दिए । कृष्ण कार्कीसँगै श्यामलाल जसेरा, अमर चौधरी, तिलकबहादुर कार्कीलगायतले दायर गरेको रिटमाथि छलफल भइरहेको उनले जनाए ।
कार्कीले रिट दायर गरेपछि विद्यालय प्रशासन विद्यार्थीको परीक्षाको समयमा अड्डा अदालत धाउन बाध्य भएको छ । आफ्नै बुबा चन्द्रबहादुर कार्कीसहित बहुमत संख्याले गत वर्षको फागुनमा गरेको आम भेलाले गरेको सहमतिविरुद्ध गएर कार्कीले मुद्दा हालेपछि पठनपाठनमा समस्या आउनुका साथै विद्यालयले आर्थिक क्षति बेहोर्नुपरेको विद्यालयका सूचना अधिकारी हरिबहादुर कटुवाल बताउँछन् ।
आम भेलाका बखत वैदेशिक रोजगारका क्रममा देशबाहिर रहेका कार्कीले राजनीतिक मुद्दा बनाउनका लागि यसो गरेको हुन सक्ने कटुवालको अनुमान छ । विपन्न समुदायका छोरा–छोरी अध्ययन गर्ने विद्यालयमा आर्थिक सहायता प्राप्त भइहँदा कार्कीलाई ‘टाउको दुखाइ’ हुँदा सम्बन्धित व्यक्ति र संस्थाहरूले झन्झट भोग्नुपरेको दुखेसो कटुवालले पोखेका छन् ।
‘उहाँले यस विद्यालयमा आठ कक्षा अध्ययन गर्नुभयो,’ कटुवाल भन्छन्, ‘निर्णय हुँदा जापान बस्नुहुन्थ्यो । आफ्ना बुबाले समेत सहमति गरेको विषयलाई लिएर उहाँले हामीमाथि कूटता साँध्नुभयो । विपन्न, दलित, अपांग र अनाथ पढ्ने सामुदायिक विद्यालयले पाउने आर्थिक सहयोग उहाँलाई किन पचेन ? फेरि कानुनअनुसार नै हामीले नाम थपेका हौं ।’
साविक संघीय शिक्षा ऐन र अहिलेको स्थानीय सरकार सञ्चालन ऐनमा उल्लेख भएअनुसार माध्यमिक विद्यालयलाई दुई करोडभन्दा बढी नगद वा अचल सम्पत्ति प्रदान गर्ने दाताको नाममा उनीहरूले चाहेअनुसार विद्यालयको नाम संशोधन गर्ने प्रावधान रहेको छ । सोहीव्यवस्था अनुसार दाता शर्मा, विद्यालय व्यवस्थापन समिति र रतुवामाई नगरपालिकाबीच कात्तिक ३० गते त्रिपक्षीय सम्झौता भई विद्यालयको नाम संशोधन गरिएको हो । तर, यस विषयलाई लिएर कार्कीले अदालतमा १० वटा रिट हाल्दा विद्यालय प्रशासन, दाता शर्मासहित सम्बन्धित पक्ष पटक–पटक अदालत धाइरहेका छन् । जसले आर्थिकसँगै मानसिक रूपमा झन्झट बेहोरिरहेको विद्यालयका प्रधानाध्यापक खनाल बताउँछन् ।
‘पाँच पटक जति हामी अदालत गइसक्यौं, रिट सरेको सरेकै छ,’ उनी भन्छन्, ‘आवत–जावत खर्च र वकालत खर्च बेहोर्नुपरेको छ । जबकि, अहिले विद्यार्थीलाई एसइईको तयारी गराउनुछ । हामीले विद्यालयको नाममा दाताको इच्छाअनुरूप केही थप मात्र गरेका हौं, त्यो पनि कानुनअनुसार । बेकारमा हामीलाई अदालतमा घिसारियो ।’
उनका अनुसार गत वर्षको माघमा ८५ जनाको आमभेलामा प्रतिनिधिमूलक ४५ जनाले नाम थप्ने कुरामा सहमति जनाएका थिए, जुन बहुमत संख्या हुन आउँछ । आन्तरिक स्रोतबाट मात्र चलेको विद्यालयले आवश्यक परेअनुसार आर्थिक सहयोग पाउँदासमेत मुद्दा हालेर अफ्ठेरो पारिएको गुनासो प्रअ पोखरेलको छ । विद्यालयको तर्फबाट कानुन व्यवसायी भरतबहादुर थापाले बहस गरिरहेको उनले बताए ।
तत्कालीन इटहरा–४ घर भएका शर्मा कुनैबेला यही स्कुलमा पढेका थिए । पछि उनी बसाइ सरेर बेलबारी पुगे । उनका बुबा लोकनाथ कुनै समय उक्त विद्यालयका व्यवस्थापन समितिका सदस्य थिए । सोही विद्यालयमा वरिष्ठ नेता बालेन साहकी पत्नी सबिना काफ्ले पनि पढेकी हुन् । उनले २०६४–६५ सालतिर कक्षा ८ सम्म त्यहाँ पढेको बताइएको छ । उनका पति बालेन भने काठमाडौं महानगरपालिका प्रमुखको जिम्मेवारी त्यागेर झापा–५ बाट चुनावी मैदानमा होमिएका छन् ।
बालेन आबद्ध पार्टी रास्वपाबाटै संसदीय निर्वाचनमा मोरङ–२ को उम्मेदवार बनेका कृष्ण कार्कीले आफ्नै गाउँमा रहेको विद्यालयको नाम संशोधनलाई लिएर बखेडा सिर्जना गरेको भन्दै गाउँले पनि रुष्ट बनेका छन् । तथापि, कार्की भने समाजको आग्रहलाई स्वीकार गरेर आफूले अदालतमा रिट हालेको बताए । नाम फेरेर इतिहास मेटाउने कोसिस भएको स्थानीयको गुनासो सुनेपछि सरोकारवाला, अभिभावक र पूर्वविद्यार्थीको हस्ताक्षर संकलन गरी अदालत पुगेको बताउँदै उनले यो विषय अदालतमा रहेकाले धेरै बोल्नु आवश्यक नरहेको बताए ।
‘मैले नाम फेर्नु हुँदैन भन्ने करिब ३ सय जनाको हस्ताक्षर संकलन गरेको छु,’ उनी भन्छन्, ‘उहाँ दाता बन्नुभयो, स्कुलका लागि भगवान बन्नुभयो । तर, पुराना भवनको नाम यथावत राखेर नयाँ बन्ने भवनमा सुनीलका माता–पिताको नाम राख्न सकिन्छ भन्ने समाजको ठहर छ । पैसा दियो भन्दैमा इतिहास नै मेट्नु हुँदैन नि !’ नाम संशोधनका लागि भएको आम भेलामा बुबाले सहमतिको पक्ष लिएको विषयमा भने आफूलाई जानकारी नभएको तर्क कार्कीको छ ।
कार्की रास्वपाका विवादित उम्मेदवार पनि हुन् । उनी आफूले जलाएर खरानी बनाएको संसद भवन प्रवेश गर्ने दाउमा छन् । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते संघीय संसद्मा आगो लगाएर फेसबुकमा पोस्ट गरेका कार्कीलाई रास्वपाले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएपछि आलोचना भएको थियो । केही वर्ष मात्रै यस क्षेत्र बसेका उनी अधिकांश समय काठमाडौं बस्ने गरेका थिए । त्यसपछि विदेश पलायन भएका उनी जेनजी विद्रोह हुनुभन्दा केही समयअघि मात्र जापानबाट फर्किएर काठमाडौंको आन्दोलनमा सहभागी भएका थिए ।
यसअघि २०७९ सालको चुनावमा झन्डै पाँच हजार भोट ल्याएका ठगेन्द्रप्रसाद न्यौपानेलाई पन्छाएर कार्की मोरङ–२ को उम्मेदवार बनेका हुन् । यसैकारण रुष्ट बनेका रास्वपाका कार्यकर्ता र आम मतदाताले कार्कीले मत पाउने कुरामा ‘बत्तीमुनिको अध्याँरो’ भन्ने गरेका छन् ।
जग्गादाता फोटोमै सीमित, पैसा दिनेले नामै फेरे
दुई करोड रुपैयाँ सहयोग गरेका सुनील शर्माका माता–पिताको नाममा विद्यालयको नामकरण गरिँदा एक बिघा एक कठ्ठा पाँच धुर जग्गा दिएका जग्गादाता भने छाँयामा परेका छन् । जग्गादाता तथा विद्यालयका संस्थापक नरेन्द्र थापा र मैया थापाको भने विद्यालय प्रशासनले फोटोमा सीमित बनाइदिएको छ ।
अति विपन्न, सन्थाल, दलित–मुसहर समुदायका तथा अनाथ बालबालिका पढ्ने विद्यालयमा १९ जना शिक्षकले अध्यापन गराउँदै आएका छन् । २०६८ सालदेखि अंग्रेजी विषयमा पठनपाठन हुँदै आएको विद्यालयमा करिब चार सय विद्यार्थी अध्ययनरत छन् ।