विराटनगर । मोरङ निर्वाचन क्षेत्र नं. ६ को प्रतिनिधिसभा निर्वाचन यसपटक साधारण राजनीतिक प्रतिस्पर्धामा सीमित छैन। यो चुनाव दुई पुस्ताबीचको सोच, ऊर्जा र दृष्टिकोणको प्रत्यक्ष भिडन्त बनेको छ।
एकातिर ७५ वर्षका अनुभवी नेता शेखर कोइराला छन् भने अर्कोतिर २५ वर्षका युवा उम्मेदवार वसन्त बुढाथोकी। उमेरको फराकिलो अन्तरका कारण धेरै मतदाताले यो चुनावलाई ‘हजुरबुबा–नाती’ बीचको प्रतिस्पर्धाका रूपमा लिन थालेका छन्।
उज्यालो नेपाल पार्टीबाट चुनावी मैदानमा उत्रिएका वसन्त बुढाथोकीको चुनाव चिह्न ‘चिम’ (बलिरहेको बिजुलीको बत्ती) मोरङ–६ का युवामाझ आशा, परिवर्तन र नयाँ युगको प्रतीकका रूपमा देखिन थालेको छ।
वसन्त बुढाथोकी परम्परागत नेताझैँ मञ्च र औपचारिक सभामा मात्र सीमित छैनन्। उनी गाउँ–टोल, चोक–चौतारी, युवाको जमघट र आमाहरूको भेलासम्म पुगेर प्रत्यक्ष संवाद गरिरहेका छन्।
“म राजनीति गर्न होइन, तपाईंहरूको समस्या बोकेर आएको हुँ,” भन्ने उनको सन्देशले स्थानीय मतदातामाझ नयाँ आशा जगाएको देखिन्छ।
बेरोजगारी, वैदेशिक पलायन, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवामा पहुँच र स्थानीय रोजगारी सिर्जनाका मुद्दालाई वसन्तले चुनावी नारामा मात्र होइन, कार्यान्वयनयोग्य एजेन्डाका रूपमा अघि सारेका छन्। यही कारणले युवामात्र होइन, अभिभावक पुस्ताको विश्वाससमेत क्रमशः उनीतर्फ आकर्षित हुँदै गएको देखिन्छ।
उता लामो समयदेखि राष्ट्रिय राजनीतिमा सक्रिय शेखर कोइराला आफ्नो अनुभव र राजनीतिक पहिचानलाई आधार बनाएर चुनावी मैदानमा छन्। तर स्थानीय तहमा देखिएको माहोलले मोरङ–६ मा परम्परागत अनुहारभन्दा नयाँ सोच र नयाँ नेतृत्वप्रति आकर्षण बढ्दै गएको संकेत गर्छ।
विशेषगरी सामाजिक सञ्जालमा वसन्त बुढाथोकीको सक्रियता, सरल भाषा र जवाफदेही शैलीले उनलाई जेन–जी मात्र होइन, सबै पुस्ताको साझा आवाजका रूपमा उभ्याएको विश्लेषकहरू बताउँछन्।
अब निर्णय मोरङ–६ का मतदाताको हातमा छ—
हिजोको निरन्तरता रोज्ने कि भोलिको नेतृत्वलाई अवसर दिने?