काठमाडौं, माघ १२ — पुछारमा रहेको ओभिडोमाथि ३–० को सहज जित निकाल्दै बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ।
आइतबार घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाका लागि ड्यानी ओल्मो, राफिन्हा र लामिन यामलले समान एक–एक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा बार्सिलोना हाबी देखियो।
खेलको ५२औँ मिनेटमा ओल्मोले गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसको पाँच मिनेटपछि राफिन्हाले दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए। ७३औँ मिनेटमा लामिन यामलले तेस्रो गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे।
यो जितसँगै बार्सिलोनाले २१ खेलबाट ५२ अंक जोडेको छ, जुन दोस्रो स्थानमा रहेको रियल मड्रिडभन्दा एक अंक बढी हो। पराजित ओभिडोको समान खेलबाट १३ अंक मात्र छ।