विराटनगर । विराटनगरमा प्रहरी हौं भनेर अपहरण र डकैती गरेको आरोपमा थप एक जना समातिएका छन् ।
मोरङ प्रहरीले विराटनगर महानगरपालिका-११ घर भएका कुशल पाण्डेलाई बुधबार पक्राउ गरेको हो ।
उनी नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) विराटनगरका नेता हुन् ।
उनकै योजनामा अपहरण र डकैतीको घटना भएको निष्कर्ष प्रहरीको छ ।
वाईसीएलका विराटनगर महानगर पूर्वसदस्य पाण्डे अपहरण र डकैतीको घटनामा मुछिएका हुन् ।
उनीविरुद्ध शरीर बन्धक बनाइ डाँका गरेको कसुरमा मुद्दा चलाउने प्रहरीको तयारी छ ।
अपहरण र डकैतीमा संलग्न २ जना गत आइतबार पक्राउ परेका थिए ।
आफूलाई प्रहरी बताउने समूहले असार ११ गते बिहान अपहरणपछि डकैती गरेको थियो ।
डकैतीमा संलग्न विराटनगर –८ का २४ वर्षीय समीर हुसेन र विराटनगर–६ का २६ वर्षीय आशिव अन्सारी यसअघि पक्राउ परेका हुन् ।
उनीहरुमाथि शरीर बन्धक बनाइ डाँका गरेको कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
घटनापछि भागिरहेका वाईसीएलका नेता पाण्डेलाई प्रहरीले बल्ल पक्राउ गरेर अनुसन्धान एवं कारबाहीको दायरामा ल्याएको छ ।
पाण्डेले भने आफू वाईसीएल विराटनगरको अध्यक्ष भएको दाबी प्रहरीसमक्ष गरिरहेका छन् ।
पक्राउ परेका तीनै जना वाइसीएल नेता-कार्यकर्ता रहेको स्रोतले जनाएको छ । यसअघि पटकपटक आपराधिक घटनामा उनीहरूको संलग्नता रहेका थियो ।
२०८० को साउन अन्तिममा दिउँसै मुख्य बजार क्षेत्र नजिकै विराटनगर–१० बाबा चोक (संसारी माई मान्दिर पूर्व) मा २२ वर्षीय महमद हलिम खानमाथि तरबार प्रहार भएको थियो ।
विराटनगर-८ का खानको दुईटै हातको नशा छिन्नेगरी तरबार प्रहार गर्नेहरूमा कुशल र हुसेनसहित अमन कुरेसी, सदाब अन्सारीको समूह घटनामा संलग्न रहेको थियो ।
मुस्लिम समुदायको मोहरम पर्वमा भएको विवादलाई लिएर तरबार प्रहार गर्ने उनीहरूले केही समय कारागार बसेर फर्किएका हुन् ।
कारागारबाट निस्किएलगत्तै पुन: आपराधिक क्रियाकलापमा सक्रिय बनेका उनीहरूले आफूलाई प्रहरी बताउँदै असार ११ गते बिहान ११ः१५ बजेतिर लुटपाट गरेका थिए ।
उनीहरूको समूहले विराटनगर–१५ का २० वर्षीय विक्रमकुमार साह तेलीलाई अपहरण गरेर उनको साथमा भएको रकम लुटपाट गरेको थियो ।
त्यो समूहले विक्रमलाई सुरुमा विराटनगर–१३ को महतो टोलबाट अपहरण गरेको थियो
मोटरसाइकल र स्कुटरमा रहेका ३ जनाले महतो टोलबाट अपहरण गरी विराटनगर आँखा अस्पताल छेउ हुँदै विराटनगर–१४ जतुवा पुर्याएर रकम लुटपाट गरी उनलाई छाडिदिएको थियो ।
भिनाजु विराटनगर–१५ का धर्मानन्द साहले दिएको ३ लाख ६४ हजार रूपैयाँ लिएर बैंकमा जम्मा गर्न जाँदै विक्रम अपहरणमा परेका थिए ।
अपहरण गरेर साथमा भएको रकम डकैती गरेपछि त्यो समूहले उनलाई छाडेको थियो ।
‘हामी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएका प्रहरी हौं, अनुसन्धान गर्नु छ’ भनेर अपहरणकारीले को १४ प ३३३० नम्बरको स्कुटरमा राखेर उनलाई लगेका थिए । त्यसपछि एकान्तस्थलमा पुर्याएर लुटपाट गरिएको थियो ।
हल्ला गरेमा मारिदिने धम्की दिँदै लुटेरा समूहले साथमा भएको रकम लुटपाट गरेको भन्दै विक्रमले प्रहरीमा जाहेरी दिए ।
घटनामा पाण्डेले प्रयोग गरेर मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिए ।