विराटनगर । विराटनगरमा सापटी लिएको रकम बोकेर घर फर्किँदै गर्दा अपहरण गरेर लुटपाट भएको छ ।
आफूलाई प्रहरीको रूपमा चिनाउँदै अपहरण र लुटपाट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
असार ११ गते बिहान करिब ११:१५ बजेको समयमा मोरङको विराटनगर महानगरपालिका–१३ स्थित महतो टोलबाट ३ जनाको समूहले एक व्यक्तिलाई नियन्त्रणमा लिएर अपहरण गरेका थिए ।
ती व्यक्तिहरूले आफूहरू प्रहरी भएको नाटक गर्दै विक्रमकुमार साहलाई अपहरण गरी विराटनगर–१५ स्थित आँखा अस्पताल नजिकको रेलवे लाइनसम्म लगेर लुटपाट गरेका थिए ।
अपहरित विक्रम साहका भिनाजु धर्मानन्द साहका अनुसार विक्रमले सापटी लिएको ३ लाख ६४ हजार रुपैयाँ बोकेर घर फर्कने क्रममा उनी अपहरणमा परेका थिए ।
‘हामी प्रहरी हौं’ भन्दै नियन्त्रणमा लिएको समूहले ‘पछाडि फर्केर हेरेमा मारिदिन्छौं’ भन्दै धम्क्याएर रकम लुटेको पीडित पक्षको भनाइ छ । लुटपाटपछि उनीहरू विक्रमलाई त्यहीँ छाडेर फरार भएका थिए ।
प्रहरी अनुसन्धानका क्रममा अपहरण तथा लुटपाटमा संलग्न विराटनगर–८ का २४ वर्षीय समीर हुसेन र विराटनगर–६ का २५ वर्षीय तासिब अन्सारीलाई आइतबार पक्राउ गरेको हो ।
घटनामा संलग्न तेस्रो व्यक्ति भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।