‘हन ! के हुन आँट्यो देशमा ?’
एउटी हजुरआमा आफ्नो नाति स्कुल जान छोडेपछि नातिलाई सोध्दै थिइन् । ‘ए, नातिबाबू भन त ! स्कूल किन जान छोडेको ?’
नाति जवाफ फर्काउँछ । ‘ह्या, आमा, थाहा छैन हजुरलाई शिक्षक आन्दोलन चलिरहेको छ । बरु तपाईंहरूकै पाला ठीक रहेछ आमा ।’
नाति, हजुरआमालाई सोध्छ, ‘आमा, हजुरले कति पढ्नु भएको ?’ नातिको स्वस्थ मष्तिष्कले प्रश्न गर्यो !
हजुरआमा, कथा बुनोटले सुनाउन थाल्नुभयो ।
‘एकादेशमा, तेरा हजुरबुबा थिए ।’ उनी १४-१५ वर्षका थिए । हाम्रो एउटा टिन भएको स्कुल थियो । अहिलेको जस्तो दिवाल पक्का थिएन । उसबेला, बाँसका कर्ची, खर मिश्रित दिवाल थियो । छानो पनि खरको । तेरा हजुरबुबा फर्स्ट ब्वाइ थिए । म मनै मन पराउँथे । एकदिन खुलस्त मैंले कुरा राखें । र, उनले मलाई अँगाले ।
बिहेबारी पनि भयो । एकवर्षपछि पढाइ छाडेर सेनामा जागिर खान पल्टन गए । गर्भमा तेरा बा थिए । तेरा बा यता जन्मिनु उता लडाईमा तेरा हजुरबुबा वीरगति भएछन् ।’
हजुरबुबा कस्ता थिए, के थिए, त्यो नाति केही थाहा पाउँदैन । सबै कुरो हजुरआमाको कथाबाट थाहा पाउने नाति आज जीवितै हजुरआमालाई आफ्नै देशको कथा कुथिङ्ग्री र, मष्तिष्कको कथा सुनाउँदै छ ।
डिग्रीहोल्डर, आठ कक्षा, एसएलसी आदि आदिको कथा सुनाउँदै भन्छ, ‘जमाना तपाईंहरूकै ठीक । हाम्रो जमाना त शिक्षित गुरुहरू पनि आन्दोलित । माग पूरा हुने हो कि होइन । कथा न कुथिङ्ग्री बुझ्नु भो आमा ?’