निन्द्राको चपेटामा थिएँ । निदाउन खोज्थें पत्नीको गन्थन सुरु हुन्थ्यो । ‘हन आज यति छिट्टै केको भुसुक्कै हो ?’
मैले भनेको थिएँ, -‘भोलि मातातीर्थ औंसी ! आमाले शरीर छोडेर गएको पनि ११ वर्ष भइसकेछ, सपनामा भएपनि ममतामयी आमालाई देख्न पाउँछु कि ?’
उनलाई पनि थाहा थियो, आमा अन्नपूर्ण देवी हुनुहुन्थ्यो । कतिखेप जीन्दगी डामाडोल हुँदा खेपिदिनुहुन्थ्यो । लुकाएर हुन्छ कि, आँखा छलेर हुन्छ । एकमाना चामल कोठामा लिएर आइपुग्नु हुन्थ्यो र भन्नुहुन्थ्यो, ‘छोरो भोकाउँछ, पकाऊ र आफू पनि खाऊ ।’
मैले आमा आएको चाल पाउँथें । सासु-बुहारीको गफ चलेको सुन्थें । पत्नी र आमा मेरै थिए । मेरो संगत आवराहरूसँग थियो । ती आवाराहरूको बीचमा बुद्धिजीवी पनि मै थिएँ ।
आमा कोठाबाट पल्याक पुलुक यताउता हेर्दै, बाहिरिन खोज्ने, कसैले देखे भने कराउँछन् कि भन्ने एक प्रकारको डराउने प्रवृति थियो आमाको ।
मलाई मात्रै मातृत्वको प्रेम थिएन । आमाको सबैमा उत्तिकै हक थियो, अधिकार थियो ।
सबै छोराहरूको कोठातिर चाहार्ने बानी नै थियो आमाको । यसरी चाहार्नुको उद्देश्य थियो, “हुनेले त खाए होलान् , नहुनेले के खाए होलान् ?”
आमाको यो चियो चर्चोलाई म भन्थें, “आमा हामी परिस्थितीबाट अलग भएपनि, तपाईं हाम्रै आमा, हामी तपाईंकै सन्तान हौं । गर्व गरेको छु कि तपाईं हाम्रो सिङ्गो आमा हुनुहुन्छ ।”
समय बलवान नै भन्नु पर्यो, जागिर सजिलैसित पाएँ मैले । अब आमाको ऋणको भार तिर्न सक्छु भन्ने आँट लिएँ मनमा। बिस्तारै म सक्षम बन्दै थिएँ, दैवको लिला !
मेरो आमालाई छिन्यो त्यो अदृश्य शक्तिले । मलगायत दाजु-भाइ स्तब्ध भयौं ।
कुराहरू खेल्दै थिए मनमा, कुनबेला भुसुक्कै भएँछु । सपनामै बरबराएँछु, ‘आमा ! आमा !! आमा !!!
विराटनगर-६, ममता-मार्ग ।