गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–१ नयाँ गाउँ ओखर रुखकी मनि नेपाली छोरा बिवेकको जलेर मृत्यु भएको छ ।
बच्चाहरूले लाइटर खेलाउँदा भएको आगलागीमा जलेर भाइको मृत्यु भएको छ भने दिदीले ज्यान जोगाएकी छन् ।
मनि नेपालीका तीन छोराछोरी थिए । आकाश, अस्मी र बिवेक । उनीहरू स्थानीय विद्यालयमा पढ्छन् ।
शिक्षक आन्दोलनको कारण लामो समयदेखि घरमै छन् । आमा मनि नेपालीले जेठो छोरा आकाशलाई मकै छर्न बारीमा लिएर गएकाले घरमा अस्मि र बिवेक मात्रै थिए ।
शुक्रबार कडा गर्मी थियो । दिदिभाईले लाइटर निकालेर खेलिरहेका बेला भाइ बिवेकले गोठ नजिकको घाँसको थुप्रोमा आगो लगाए ।
दिदी अस्मि भागेर चिच्याइन् । तर, भाइ गोठभित्र पसेकाले भाग्न पाएनन्, जलेर मृत्यु भएको छिमेकी विष्णु कुवरले बताए ।
मनि नेपालीका श्रीमान् कामको सिलसिलामा भारतमा छन् । गाउँका अत्यन्तै विपन्न परिवारलाई आगलागी हुँदा छोरा गुमाउनु परेको पीडाले विक्षिप्त बनाएको कुवरले बताए ।
आगलागी भएको केही बेरमा स्थानीय र प्रहरीको टोली जुटे पनि केही गर्न सक्ने अवस्था थिएन ।
६ वर्षीय बालक विवेक नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।
आगोले ढुंगा माटोले बनेको टिनले छाएको दुईतले कच्ची गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
बालकको शव पोस्टमार्टमको लागि गुल्मी अस्पतालमा तम्घासमा राखिएको प्रहरीले जनाएको छ ।
धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले घटनाले निकै दुखी बनाएको बताउँदै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।