ढल्केबर । धनुषाको सहिदनगर नगरपालिका–५, बासुदेवपट्टीमा विष सेवनबाट तीन बालबालिकाको मृत्यु भएको छ भने आमा गम्भीर अवस्थामा छन् ।
स्थानीय सुशील साहका ८ वर्षीय छोरा आदित्य साह, चार वर्षीया छोरी आकृति साह र दुई वर्षीया छोरी आरुषी साहको विष सेवनबाट मृत्यु भएको छ भने उनको ३० वर्षीया श्रीमती बबिता साहको अवस्था गम्भीर रहेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता वरुणबहादुर सिंहका अनुसार विष सेवनपछि गम्भीर अवस्थामा रहेका तीनै बालबालिकालाई जनकपुरस्थित प्रादेशिक अस्पताल लगिएको थियो ।
तर, उपचारको क्रममा तीनै जनाको मृत्यु भएको हो । गम्भीर अवस्थामा रहेकी बबिताको सोही अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।
बबिताले सोमबार साँझ करिब ६ः४० बजे तीन सन्तानलाई विष खुवाएर र त्यसपछि आफैँले पनि विष सेवन गरी आत्महत्याको प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
यद्यपि घटनाको वास्तविक कारण भने अझै खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका आधारमा पारिवारिक तनाव वा मानसिक समस्याले बबिताले यस्तो कदम चालेको हुन सक्ने अनुमान गरिएको छ ।
प्रहरीले घटनास्थलबाट प्रमाणहरू सङ्कलन गरिरहेको बताउँदै प्रवक्ता सिंहले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको बताए । घटनापश्चान गाउँ शोकमा डुबेको छ ।