बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले नाबालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तमानखोला खाजाघर बुर्तिबाङका सञ्चालक तमानखोला गाउँपालिका–१ की ४० वर्षीया सम्झना भन्ने प्रीतिमा विक र बसन्त रेस्टुरेन्ट एन्ड सेकुवा कर्नर बुर्तिबाङका सञ्चालक मकवानपुर कैलाश गाउँपालिका–९ की ३७ वर्षीया शान्ती भन्ने खिमकुमारी भोम्जन रहेका छन् ।
बागलुङको ढोरपाटन नगरपालिका-१ बुर्तिबाङमा खाजाघर र रेस्टुरेन्टमा ललगाई फकाई गरी नाबालिकालाई यौन गतिविधिमा लगाउने उनीहरूलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) विजय यादवका अनुसार उनीहरूले १६ वर्षीय बालिकालाई ४ वर्षदेखि पालैपालो होटलमा राखेर यौन धन्दा चलाउँदै आएका थिए ।
बालिकालाई ग्राहकहरू सँगबाट पैसा लिई जबरजस्ती यौन कार्यमा संलग्न गराई धन आर्जन गरेको सूचनाको आधारमा प्रहरीले विक र भोम्जनलाई पक्राउ गरेको डिएसपी बताए ।
२०७७ फागुन १३ गतेदेखि २०८१ माघ २७ गतेसम्म नाबालिकालाई होटलमा वेश्यावृतिमा लगाएको देखिएको उनको भनाइ छ ।
प्रहरीले दुवै होटलको रितपुर्वक तलासी गर्दा यौन व्यवसायमा प्रयोग हुने सामग्रीहरू बरामद गरेको जनाएको छ ।
डिएसपी यावदले पीडितको बयान र जाहेरी दरखास्त तथा वेश्यावृत्तिमा प्रयोग हुन सक्ने बरामद सबुत प्रमाणका आधारमा म्याद थप लिई थप अनुसन्धान भइरहेको बताए ।