हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१ स्थित चौकीटालमा देवरले आफ्नै भाउजूको हत्या गरेका छन् ।
राहुल भन्ने रमेश दासले बुधबार भाउजू ३५ वर्षीया गुडिया दासलाई टाउकोमा खुकुरी प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
आफ्नै घरको माथिल्लो तलाको कोठामा टाउकोमा चोट लागि मृत अवस्थामा रहेको भन्ने खबर राति ९ः०० बजे प्रहरीलाई खबर प्राप्त भएको थियो ।
प्रहरीको अनुसन्धान टोली पुग्दा मृतक जेठी भाउजुलाई माइलो दाजु रुपेश दासलाई खुकुरी प्रहार गर्नुभन्दा पहिले नै अढाइ तल्ले घरको दोस्रो तल्लामा रहेको कोठामा टाउकोमा धारिलो हतियार प्रहार गरी देवर रमेश दासले हत्या गरेको बुझिन आएको छ ।
यस्तै दाजु २८ वर्षीय रुपेश दासलाई भाइ वर्ष २२-२३ का रमेशले घरायसी विषयमा विवाद हुँदा खुकुरी प्रहार गरेको पाइएको छ ।
बुधबार दिउँसो ४ः१० बजेको समयमा भाइ रमेशले खुकुरी प्रहार रुपेशको टाउको, दाहिने हात, करङको भागमा चोट लागि गम्भीर घाइते बनाएको जानकारी प्राप्त भएपछि प्रहरीले रमेशलाई खुकुरीसहित नियन्त्रणमा लिएको थियो ।
निजलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएपछि भाउजूमाथि समेत खुकुरी प्रहरी गरेको खुल्न आएको थियो । घटनाको बारेमा थप अनुसन्धान हुँदै र घाइतेको सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।