इलाम । इलाममा बालिका बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् भने मिलापत्र गराउन खोजेकोमा थप तीन जना समातिएका छन् ।
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले माइ नगरपालिका-२ का २४ वर्षीय केशव गिरीलाई चैत १० गते पक्राउ गरेको हो ।
पीडित बालिकालाई आरोपितले ०८१ चैत ६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध चैत ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बलात्कार घटनामा पीडित बालिकालाई ३ लाख रुपियाँ दिएर मिलापत्र गर्न खोजेको आरोपमा प्रहरीले अनुसन्धानका लागि थप तीन जनालाई चैत १० गते गिरफ्तार गरेको छ ।
बलात्कार घटनामा मिलापत्र गराएको आरोपमा प्रहरीले आरोपितका बाबु ५८ वर्षीय बाबु केदारनाथ गिरी, ४३ वर्षीय काका नारायण गिरी र छिमेकी ३८ वर्षीय तुलाधर अर्याललाई प्रहरी चौकी, दानावारीले गिरफ्तार गरेको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत १० गते गरिएको छ ।