दिनको हत्केलाबाट फुत्किन
साह्रै हतारमा छ सूर्य
रातको आङबाट ओझेल पर्न
हतारमा छ चन्द्रमा
हतार छ सबैलाई
जसरी समुद्रसँग अंकमाल गर्न
हतार छ नदीलाई
साँझ नपर्दै गुँड फर्किन
हतार छ चरालाई
बादलको ढाडमा चढेर
गन्तव्यमा पुग्न हतारमा छ बतास
एकमुठ्ठी सासलाई
हृदयको सिङ्गोरीमा झुण्ड्याएर
साह्रै हतारमा छ प्रेमिकालाई भेट्न
प्रेमको आगोले जलिरहेको प्रेमी ।
हतारै–हतारको भीडमा
षड्यन्त्रको सिरक ओढेर
मस्त सुतिरहेछ शासक
मृत्युपछि लासलाई घाट लाने हतारोमा हुन्छन्
आफन्त र छिमेकी
चितामा आगो सल्काउन
हतारोमा हुन्छन् मलामी
हतारैहतारको बीचमा
चितामा धुँवासँगै
शून्यतामा बिलाई जान्छ जीवन ।