विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकामा सोमबार दुई फरक-फरक स्थानमा सवारी दुर्घटना भएका छन्, जसमा चार जना घाइते भएका छन् ।
कानेपोखरी-७ शुक्रबारेस्थित भित्री पक्किसडक खण्डमा बिहीबारेबाट कानेपोखरीतर्फ आउँदै गरेको को २ ह ३१२८ नम्बरको अटो आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो ।
सोमबार दिउँसो ३ बजेतिर भएको उक्त दुर्घटनामा अटो चालक उर्लाबारी नगरपालिका-२ बस्ने अन्दाजी ४४ वर्षका ओम खत्री र अटोमा सवार सोही स्थानका ४० वर्षीय मदन राई घाइते भएका छन् ।
घाइते उनीहरूको मदनभण्डारी अस्पताल तथा ट्रमासेन्टर मंगलबारे उर्लाबारीमा उपचार भइरहेको छ ।
यसैगरी, कानेपोखरी-६ रमाइलोस्थित रंगेली-कानेपोखरी सडकखण्डमा कानेपोखरीबाट रंगेलीतर्फ जाँदै गरेको को २४ प ९४७० नम्बरको मोटसाइकलले पैदलयात्रीलाई ठक्कर दिई दुर्घटना भएको छ ।
हिजो राति ८ः४० बजेतिर भएको उक्त दुर्घटनामा पैदलयात्री मोरङको जहदा गाउँपालिका-७ बस्ने २५ वर्षीय राजु मुखिया घाइते भएका छन् ।
उनलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर ल्याइएको छ ।
साथै, सोही स्थानका १९ वर्षीय बलराम मण्डल पनि घाइते छन् । उनको रमाइलो मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक स्थानीय २५ वर्षीय सुरज लिम्बु भने घाइतेहरूको उपचारमा संलग्न छन् ।