बिर्तामोड । झापाको जलथलको जंगलमा सडेगलेको अवस्थामा जंगली हात्ती फेला परेको छ ।
कचनकवल गाउँपालिका-७ स्थित पाथीभरा सामुदायिक वनमा बुधबार साँझ सडेगलेको अवस्थामा जंगली हात्ती फेला परेको हो ।
करिब डेढ महिनाअघि मरेको हुनसक्ने वयस्क भाले हात्ती सडेगलेर दुर्गन्धित अवस्थामा फेला परेको हो ।
जंगलमा मृत हात्तीलाई अन्य ३–४ वटा जंगली हात्तीले वरिपरि घेरेर राखेपछि बुधबार साँझ कोही पनि नजिक जान सकेका थिएनन् ।
बिहीबार डिभिजन वन कार्यालय, इलाका प्रहरी कार्यालय बनियानी लगायतको टोली घटनास्थल पुगेको थियो ।
त्यहाँ पुगेर हेर्दा हात्तीको शरीरको अधिकांश भाग कुहिसकेको अवस्थामा मृत हात्ती फेला परेको डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकले बताए ।
हात्तीको दाराको टुप्पो काटिएको छ । हात्तीलाई गाडेर अन्त्येष्टि गरिएको कचनकवल ७ का वडा सदस्य शेरबहादुर थेबेले बताए ।
झापामा चालु आर्थिक वर्षमा हात्ती मरेको यो पहिलो घटना हो । गत आर्थिक वर्षमा ४ वटा हात्ती मृत फेला परेका थिए ।
यस आर्थिक वर्षमा हात्तीको आक्रमण परी झापामा चार जनाको ज्यान गइसकेको छ ।