बिहान सात बजेको समयमा चिया पिउँदै थिएँ । मोबाइल चार्जमा थियो । छोरीले उठाएर बोली, ‘हजुरबुबा नमस्ते । सन्चै हुनुहुन्छ बुबा ?’
‘मेरी नातिनी भाग्यमानी हुनू । राम्ररी पढ्नू । दिदी एसएलसी पास भई ?’ बाले प्रश्न तेर्साउनुभयो क्यारे । छोरी हाँसी र भनी, ‘बुबा हजुरले पढाइ खर्च गरेको मेरो बाबाको जस्तो एसएलसी होइन । अहिले एसइइ पो भन्छन् त ।’
हाँस्दै उहाँले भन्नुभयो, ‘बाठी भैइछे है, मेरी नातिनी ! तिम्रा बाबालाई फोन देऊ त ।’
फोन मतिर तेर्साउँदै छोरीले भनिन्, ‘बाबा हजुरबुबाको फोन । कुरा गरिसियो रे ।’
‘बा, साष्टाङ्ग दण्डवत् गरेँ । आरामै हुनुहुन्छ बा ?’
बा भन्न थाल्नुभयो, ‘बाबु राम्रै छ । आज शनिबार फुर्सदिलो छस् कि ? गाउँ आइज न आज । कति नै टाढा छ र, तँ बसेको सहरदेखि गाउँ ?’
बाले गाउँ आउने निमन्त्रणा दिनुभएकोमा ‘गाउँ जाऊँ जाऊँ’ लाग्यो । पत्नीलाई भनेँ, ‘म आज जन्मथलो गाउँ जाने । तिमीहरू पनि जाने कि ?’ सबैले जाने नै भन्न थाले ।
सबैजना गाउँको बाटो लाग्यौँ । पाँच महिना भएको थियो, गाउँ नगएको । एक-दुई घण्टाको बाटो थियो । घर पुग्यौँ । बाको गन्जी फाटेर भुँडी देखिएको थियो ।
खरको छानोको घर उजाड भएको थियो । झ्यालका पल्लाहरू उप्किएका थिए । खण्डहर जस्तो देखिएको थियो । आमाको चोली र सारी पनि फाटेको देखें । मनले थाम्नै सकेन । आँसु बर्र झारें, अनि भनेँ, ‘आमा, बुबा ! अब यो बुढेसकालमा गाउँ हैन, छोराले कमाएर बनाएको सहरको घरमा बस्ने ।’
पत्नीले पनि पोकामा के के थियो, झिक्दै बालाई दिन थाली । म नियाल्दै थिएँ । उनले बालाई धोती र गन्जी, आमालाई सारी र चोलो दिइन् । मैले मनमनै भनेँ, ‘स्याबास ।’
00000
विराटनगर-६, ममता-मार्ग ।