‘कैलु गाउँबाट सहर पस्ने तरखर गर्दै थियो ।’
जमिन्दार मालिकले अह्राएका थिए । पम्पिसेटबाट पानी तानेर गहुँबालीमा पानी पटाउँनु पर्ने ।
ऊ राम्रो थियो । असल थियो । हरुवा भएपनि । चर्चा उसैको छ। बफादार छ । मालिकले अह्राएको काममा नाई भन्दैन्थो ।
मालिकले खटाखट पैसा गनेर दिए,भने- ‘सहरबाट दस लिटर डिजेल लिएर आउँनू ।’
उसले गिलेन र पैसा समाउँदै आफ्नो जहान रामतोरीलाई भन्यो । उनकै भाषामा भन्यो, ‘आइ मालिक डिजेल आनेको कहल बजारसे । हम बजार जाइ हँ ।’
उनको श्रीमतीले भनिन्- ‘ठिकै बा जाऊ न त आहाँ । छाता लेके जाऊ कोनो ठिक पाइन औतेकी ? फाल्गुणोके महिना भर न हो कोनोबेर पाइन परल । कुछो रोटी पानी पिके जाऊ ।’
अर्थात उनको श्रीमतीले भनेकि थिइन्, ‘ठिकै छ जानू । छाता लिदैं जानू । के ठिक फाल्गुणको महिना पानी पनि पर्न सक्छ । केही रोटी खानुस् । अनि पानी पिएर जानुस् ।’
ऊ श्रीमतीको भविष्यवाणी लत्त्याउँदै सहर पुग्यो । फर्किने बेला आकाशमा कालाबादलहरू मडारिन थाल्यो ।
बकुल्लाको बथानहरू सुरक्षित स्थानतिर उडेर गन्तव्यतिर जाँदै थिए । काला बादलमा सेताम्मे बकुल्ला उडेको दृश्य हेर्दै आफू पैदल हिँड्दै थियो ।
अलि पर पुगेपछि हेर्छ । बकुल्लाको बथान रुखको गुँडमा सुरक्षित भैंसकेका थिए । तब ऊ झस्कियो । ‘रामतोरियाले ठीकै भनेकी थिई छाता नलिइकन आएको बिजोग हुने भो ।’
दररररर पानी दर्कियो । उसले गाउँजाने बाटोमा एउटा झुपडी देख्यो मनमनै सोच्यो । यही झुपडीमा पसेर केहीबेर पानीबाट बचौंला ।
बकुल्लाको जस्तो मान्छेको बथान थिएन यसरी बाटोमा । ऊ एक्लो थियो ।
हस्याङ फस्याङ गर्दै झुपडीमा ओत लाग्न खोज्यो । एउटा बकुल्ला पनि सुरक्षित हुन नसकेर कैलु भन्दा पहिले त्यहाँ ओत लागिसकेको थियो ।
पंक्षी बकुल्ला र मानव जीवको त्यसदिन मित्रता घनिष्ठ थियो ।
● ●
विराटनगर-६, ममता-मार्ग ।
मितिः २०७६|११|२८