अझै गुइँठा बाल्न बाध्य छन् तराईका महिला !

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १४ माघ, २०८१
२ वर्षअघि

विराटनगर । हिउँदको समयमा ग्रामथान गाउँपालिका–५ तेतरियाकी सकुन्तला चौधरीको दिनचर्या दैनिक गोबर जम्मा पार्न बित्न थालेको छ । गाईबस्तु नपाल्ने भएका कारण चरन–चौरमा गोबर खोज्न निस्कनु उनको दिनचर्या नै हो ।

सकुन्तलाजस्तै हिउँदमा मोरङको दक्षिणवर्ती भेगका अधिकतर घरपरिवारका गृहणीहरूले गोबर संकलन गर्ने गरेका छन् ।

Advertisement

मोरङको ग्रामथान गाउँपालिका, बूढीगंगा गाउँपालिका, कटहरी, गाउँपालिका, सुन्दरहरैंचा नगरपालिका, रंगेली नगरपालिका, सुनवर्षी नगरपालिका, रतुवामाई नगरपालिका लगायत ग्रामीण भेगका गृहणीहरू अहिले गोबर संकलन गर्ने ध्याउन्नमा छन् ।

यसरी जम्मा पारिएको गोबर ‘कम्पोस्ट’ मल बनाउन भने होइन ।

संकलित गोबर, धानको पोगटा मिसाएर सन्ठीमा लेपेर दाउराको रूपमा खाना पकाउन प्रयोग हुने ‘गुइँठा’ तयार पार्नु मोरङको दक्षिणवर्ती क्षेत्रका गृहणीहरूको दैनिकी बनेको छ ।

सामान्यतयाः गोबरलाई चाक्लो पारेर घरका भित्ता–भित्तामा पथारिनेलाई ‘चिपरी’ भित्रपट्टि सन्ठी हालेर लामो डोलो बनाइने साना आकारकालाई ‘गुइँठा’ र भित्रपट्टि पराल हालेर पथारिने ठुला आकारकालाई ‘गोरहा’ भनिन्छ ।

यद्यपि, यी सबैको समग्र रूप गुइँठा नै हो ।

मोरङको ग्रामीण क्षेत्रका प्रायः घरआँगन र भित्ताहरूमा गुइँठा सुकाइएको देख्न सकिन्छ ।

घरैपिच्छे ठडाएर सुकाइएका गुइँठाका थाकहरू देख्दा धेरैलाई अचम्म पनि लाग्न सक्छ ।

तर, यहाँका बूढाबूढीदेखि केटाकेटीसम्मका लागि गुइँठाको आफ्नै महत्त्व छ ।

उहिल्यैदेखि मोरङको दक्षिणवर्ती गाउँहरूमा गुइँठा खाना पकाउनमात्र नभएर जाडोमा आगो ताप्न प्रयोग हुने गरेको छ ।

गृहणीहरूले गोबर जम्मा पारेर बनाइएका गुइँठा घाम राम्रोसँग लाग्ने ठाउँमा सुकाउने र चाङ लगाएर राख्ने गरिन्छ ।

जाडोयाममा बाहेक वर्षायाममा पनि यसलाई दाउराको साटो प्रयोग गरिने सकुन्तला बताउँछिन् ।

‘वर्षौं‌ भयो हामीले गुइँठा बाल्न थालेको, हजुरबुबादेखिकै पालादेखि बाल्थ्यौं । अझै पनि निरन्तर गुइँठा बनाउँछौं,’ उनले भनिन्, ‘मेरो घरमा ग्यास पनि छ । ग्यासमा चियामात्र पकाउँछु । धेरैजसो भने गुइँठाकै प्रयोग हुन्छ । खाना पकाउँदा होस् वा बस्तुका लागि खोले पकाउँदा होस् । गुइँठा नै प्रयोग हुन्छ ।’

गोबरको गुइँठा बनाउनकै लागि चौधरीको परिवारले तीनवटा गाई पाल्दै आएको छ ।

मोरङको दक्षिणी क्षेत्रमा जंगल क्षेत्र छैन । यसैले पनि दाउराको विकल्पमा गोबर गुइँठा प्रयोग गर्नुपर्ने बाध्यता रहेको उनी बताउँछिन् ।

गुइँठा बनाउका लागि सन्ठी चाहिने भएकाले यहाँका किसानहरूले पटुवा खेतीसमेत लगाउने गरेका छन् ।

खाना पकाउने इन्धनमा बाक्लै प्रयोग हुने गोबरको चिपरी, गुइँठा र गोरहामा आगो ननिभ्ने र खानेकुरा पनि स्वादिलो हुने आम विश्वास छ ।

योभन्दा पनि इन्धनका लागि अन्य साधनको जोहो गर्न आर्थिक अवस्थाले नसक्नेहरूका लागि त गोबरको जोहो र गुइँठा पथार्ने काम अनिवार्य नै बनेको छ ।

यहाँका महिला अहिले धेरैजसो कृषि कार्यबाट अलि फुर्सदिलो समय हुँदा वर्षभरिकै इन्धन जम्मा गर्छन् ।

खासगरी वन क्षेत्र टाढा भएका र घरको अर्थावस्थाले ग्यास किन्ने र प्रयोग गर्ने आर्थिक हैसियत नभएका घरमा इन्धनका लागि गुइँठा बालेर खाना पकाइन्छ ।

‘के गर्नु पकाएर खानु परिहाल्छ,’ धमाधम गोबरको गुइँठा पथार्न व्यस्त देखिएकी ग्रामथान–५ तेतरियाकी गृहिणी ललिताकुमारी ऋषिदेव भन्छिन्, ‘अहिले अन्य खेती कामको व्यस्तता नभएका बेला बर्खाभरिलाई चाहिने गुइँठा पथार्दै छु ।’

त्यसबाहेक दाउराका रूपमा गोबरको अत्यधिक प्रयोग भएपछि जग्गा–जमिनमा उत्पादन भने कम हुने र रासायनिक मलको प्रयोग बढेको पाका किसान बताउँछन् ।

गोबरको प्रयोग इन्धनका रूपमा हुन थालेपछि रासायनिक मलको प्रयोग बढ्न थालेको छ, जसका कारण तत्काल उब्जनी बढ्ने भए पनि माटोको उर्बराशक्ति ह्रास हुँदै गएको किसानहरूको अनुमान छ ।

‘खेतबारीमा हाल्नुपर्ने कम्पोस्ट मल बनाइने गोबर दाउरामा प्रयोग गरिन्छ । खेतबारी मलिलो बनाउने कम्पोस्ट मल नभएपछि रासायनिक मल हाल्नुपर्ने बाध्यता हुन्छ । यसले तत्काल उब्जनी त बढाउला तर माटोको उर्बराशक्ति भने निकै घटेको छ,’ ग्रामथान–५ का किसान हेमसागर पोखरलेले भने ।

कृषिविद् पनि यस विषयमा सहमत छन् ।

गोबर मलले चिस्यान र माटोको उर्बराशक्तिलाई सन्तुलनमा राख्ने हुँदा रासायनिक मलसँगै गोबर हाल्न विज्ञहरू सुझाउँछन् ।

गुइँठा बालेर बनेको खरानी खेतबारीमा फाल्ने गरेको भए पनि त्यसको प्रभाव नरहने उनीहरूको भनाइ छ ।

स्वास्थ्यका हिसावले गुइँठाको प्रयोगका बेफाइदा

स्वास्थ्यका दृष्टिले गुइँठा बाल्नु राम्रो मानिँदैन ।

आगो छिटो नसल्कने, आगो सल्किए पनि धुवाँ बढी फाल्नेलगायतका कारणले यसले स्वास्थ्यमा असर पार्ने जनस्वास्थ्यविद् डा. सूर्य पराजुली बताउँछन् ।

‘गुइँठा राम्ररी बल्यो भने असर पनि कम हुन्छ, तर धुवाँ आयो भनेचाहिँ गुइँठा असरदार हुक्छ,’ उनले भने, ‘धुवाँसहितको आगोमा डायअक्सिन भन्ने केमिकल निस्कन्छ, जसले फोक्सोमा क्यान्सर गराउन सक्छ ।’

समग्रमा गुइँठा बाल्नु मानव स्वास्थ्यका लागि घातक रहेको उनको भनाइ छ ।

जाडोयाममा भान्साभित्र गुइँठा बाल्दा झ्याल–ढोका बन्द गर्ने प्रवृत्ति छ । यसो हुँदा निसास्सिएर ज्यान जानसक्नेतर्फ सचेत हुनुपर्ने डा. पराजुलीको सुझाव छ ।

‘गुइँठाको धुवाँले बालबालिकामा निमोनिया हुने, छातिमा इन्फेक्सन हुनसक्ने जोखिम बढी हुन्छ,’ उनले थपे, ‘त्यसबाहेक जाडोमा बाहिर बालेको गुइँठाबाट महिलाले लगाएको सारी हुँदै शरीरमा आगो सल्किएर ज्यान गएको हामीले सुन्दै आएका छौं । यतातर्फ पनि सचेत हुन जरुरी छ ।’

गुइँठाको तुलनामा गोबरग्यास बाल्दा स्वास्थ्यका लागि सुरक्षित हुने डा. पराजुलीको भनाइ छ ।

कृषिमा रासायनिक मलको प्रयोग बढाउने र ‘ग्लोबल वार्मिङ’ गराउनमा पनि गुइँठाकै भूमिका हुने उनको धारणा छ ।

बरु, मानव स्वास्थ्यमा हित गर्ने उद्देश्यसहित गुइँठाको प्रयोग घटाउन तीनै तहका सरकारले विपन्न वर्गलाई विद्युतीय चुलो दिनुपर्ने सुझाव डा. पराजुलीको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०