‘सहरदेखि दुई-तीन किलोमिटर पर मेरो गाउँ थियो ।’
गाउँको खोला किनारामा सुकुम्वासी बनेर दुवै किनारातिर घर बाँधेर बसेका थिए हाम्रै गाउँघर समाजका पिछडिएका मुसहर दाजुभाइहरू ।
बिहान कोही जमिन्दारको घरमा हरुवा चरुवाको काम गर्थे भने कोही सहर पसेर काम गरी साँझमा घर फर्किन्थे ।
लकडाउनको परिस्थितिको सामना भनेको उनीहरूको जहान बाल बच्चाको भोको पेट । काम भने लुकीछिपी गर्थे ।
एकदिनको लकडाउनको सदुपयोग गरी गाउँतिर सोझिएको थिएँ म ।
मर्निङवाकको सेरोफेरो गर्दै आफ्नै गाउँघरको सम्झनाले उतै तान्यो । गाउँको सुन्दरता र स्वच्छ हावाले पनि मलाई चिनिसकेको थियो ।
म हुर्केको माटोले पनि मलाई चिनिसकेको थियो । कतिखेप हावाको झोकाले स्वा गर्दा एउटा कान थापेर, अर्को कानबाट हावा बाहिरिएको स्मृति ताजै थियो ।
कतिखेप माटोले लडाएको अनि धुलो झार्दै उठेको पनि स्मृति मेरो माटोले पनि दिएकै हो ।
खोलाको पुल किनारामा उभिरहेको थिएँ । खेकी भौजी, दाउरा टिपेर त्यही पुलबाट जाँदै थिइन् ।
घुरिएर हेरिन् भनिन्, ‘बबुवा तपाईं रन्जन होइन ?’ मैंले प्रति उत्तर दिएको थिएँ, ‘हो भौजी, म तपाईंकै सानो बबुवा रन्जन हुँ ।’
‘बबुवा हिँड्नुस्, हाम्रो घरतिर ।’ भौजीको जवाफ लत्याउन सकिनँ, लागे पछिपछि ।
केटाकेटी थिएनन् त्यतिबेला जब म गाउँ छोडेर सहर पसेको थिएँ । अहिले भौजीको कोख भरिएर पनि धेरै छोरा छोरी भइसकेका रहेछन् । चकलेट न कुनै सामाग्री बोकेको थिएँ । आफैं लकडाउनको मार खेप्न नसकेर गाउँतिर त्यतिकै दौडिएको थिएँ ।
कुर्सीमा बसेको छु थचक्कै । भौजी गाईको गोबरले आँगन लिप्दै थिइन् । मनमनै सोच्दै थिएँ, ‘के यो गाईको गोबरले कोरोना भाइरस रोक्ला त ?’
यत्तिकैमा मोबाइलमा घण्टी बजेछ, मोबाइलमा छोरी बोल्दै थिईं,’बाबा आज कति धेरै मर्निङवाक गरेको ? भात खानेबेला भैसक्यो त ?’
यी मेरा बचेरालाई के थाहा, ‘बाबा गाउँघरतिर कोरोना भाइरसको औषधि पत्ता लगाउँन पो हिँडेका हुन् कि ?’
● ●
विराटनगर-६, ममता-मार्ग ।
मितिः २०७६|१२|१३