‘समय थियो बिहानको आठ बजे ।’
हुन त सात बजेदेखि नै अनलाइन बस्या थिएँ ।
साहित्यकार मित्रहरूसँग साहित्यिक कुरो नै चलिरहेको थियो । ‘मेरो पत्रिकामा आएन ?’ सबैजसो साथीहरूले प्रायः मलाई सोध्ने प्रश्न थियो यो । मैले जवाफ फर्काएको थिएँ, ‘पानी परिरहेको छ, पत्रिका आँगनसम्म आइपुगेको छैन ।’
पानी सिमसिम परिरहेको थियो । म घरी आँगनमा नियाल्थेँ । घरी भित्र पस्थेँ । मोबाइलमै ध्यान केन्द्रित गरेर फेरि मेसेन्जरमा कुराकानी गर्न थाल्थेँ । फ्यात्त आवाज आयो पिँढिमा । बुझेँ, पत्रिका आयो । पत्रिका हातमा लिएँ । मोबाइल सोफामा राखेर पत्रिकामा आँखा घुमाएँ । चिरपरिचित साथीहरूको रचना देखिनँ ।
मेसेन्जरमै हुनु भएको साहित्यिक मित्रलाई जवाफ दिएँ । ‘सर आज प्रकाशित भएनछ ।’
उहाँले यति भन्नु भो, ‘ए ल ठिक छ ।’
एकातिर मोबाइल । एकातिर पत्रिका । अर्कोतिर अफिसको हतारो ।
हेर्दै नै थिएँ मोबाइल, बैठक रूममा । पत्नी कोरीबाटी कपाल चुल्ठो बान्दै थिइन् । छोरी बेडरुममा मोबाइलमै ब्यस्त थिइ ।
‘हल्लियो, हल्लियो’ भन्दै छोरी बाहिर निस्की । पत्नी पनि निस्किइन् ! म पनि हातमा मोबाइल लिँदै बाहिर निस्किएँ । पोष्ट गर्न थालें, ‘हल्लियो है हल्लियो ।’
२०७२ को महाबिनास भूकम्प थाहा पाइनँ होला मैले । म आफैँलाई प्रतिप्रश्न गर्दै थिएँ। ‘यो पाँच रेक्टरको भूकम्पचाहिँ कसरी थाहा पाएँ हँ !
विराटनगर-६, ममता-मार्ग ।
मितिः २०७९/०४/१५