रमुवा पनि उही हो । जसरी कलुवा रिक्सा ठेलामा तरकारी लिँदै टोल टोलमा तरकारी बेच्दै हिँड्ने ।
कलुवाभन्दा रमुवा अलिक गरिब थियो । कलुवा वर्षौंदेखि तरकारी बेच्दै आइरहेको थियो भने उसैको देखासिकीमा, अरूले पनि तरकारी बेचेर जीवनको आश लाग्दो सपनाहरू किन्न खोज्थे ।
कलुवाले देखेको सपना हामी छरछिमेकीले उसको तरकारी किनिदिँदा उसले सपना किन्न सफल भएको थियो । यसमा उसको मिहिनेत थियो ।
रमुवा, तरकारी बेचेको पैसाले साँझपख भट्टीमा प्याक लगाउँथ्यो । उसले देखेको सपनाहरू रक्सीको बोतलमा कैद हुने गर्थ्यो ।
शनिबारको दिन । म पनि घरै थिएँ । पत्नी भन्थिन्, ‘कलुवा तरकारी लिँदै आउँला । मौसम ठिक छैन, हाट-बजार गएर तरकारी किन्ने अवस्था छैन । मौसम अधिक चिसो भइसक्यो ।’
पत्नीको कुरो सुनेँ, ‘सही हो भन्न थालेँ ।’ फेरि सोचेँ, ‘खै कस्तो सही ?’
कलुवाभन्दा अघि रमुवा रिक्सा ठेला लिँदै आउँदै गरेको देखेँ । उनलाई भनेँ, ‘के- के तरकारी लिने भन है छिटो । बाहिर चिसो हावाको बहाव छ ।’
रमुवा आइपुग्यो । ‘ए ! रमुवा रुक-रुक ।’ मैंले आवाज दिएँ । ऊ रुक्यो । उसको मुख ठुस्स गन्हाएको थियो । उसले बिहान चिया पिउनुको सट्टा लोकल रक्सी पिएको रहेछ ।
उसले भन्यो, ‘के लिने ?’
ऊसंगै उसको पत्नी अनि छोरी पनि थिई । उनको पत्नीलाई भनेँ, ‘कन्या, ‘रमुवाके दारु पिएके लिये काहे छुट करैछिः ?’
अर्थात् ‘बुहारी, रमुवालाई रक्सी खान किन छुट दिएको ?’ उ केही बोलिन् ।
उसको छोरी, पाँच वर्षको छोरी, जामा मात्र लगाएकी थिई । मैले रमुवालाई भनेँ, ‘रमुवा जामा च्यातेर भुँडी देखिएको छ । यो चिसोमा बच्चाको ख्याल गर्नु पर्दैन् ?’
उसले पनि केही जवाफ दिएन । पत्नीलाई बोलाएँ, ‘पारु यहाँ आऊ त, हाम्रो छोरीहरूको त्यो छोटो भएको स्विटर रमुवाको छोरीलाई देऊ त, बिचरी लुगलुग काँपिरहेकी छे ।’
कता खोतल्न थालिन्, पत्नी । भेटिछिन् बाक्लै स्विटर । उनले लिएर आइन्, दिँदै भनिन्, ‘ए कलिया इ लगा ले ।’ अर्थात् ‘यो लगा ला ।’
माथ्लो फुस्केको दाँत ! कलिया खुसी हुँदै ‘ङिच्च गिजा देखाई ।’
विराटनगर-६, ममता-मार्ग ।