विराटनगर । तेह्रथुममा सामाजिक सञ्जाल टिकटकका लागि भिडियो बनाउने क्रममा चिप्लिएर लड्दा दुई किशोरीको मृत्यु भएको छ ।
शनिबार तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–५ को गौखुरी माध्यामिक विद्यालय मोराहाङमा कार्यरत विद्यालय नर्स र त्यहाँ अध्ययनरत एक विद्यार्थीको शनिबार खोलामा डुबेर मृत्यु भएको हो ।
गौखुरीमा कार्यरत विद्यालय नर्स विराटनगरकी रविना राजवंशी र कक्षा ७ मा अध्ययनरत स्थानीय १२ वर्षे छात्रा सुस्मिता भट्टराईको खोरुंगा खोलामा टिकटक बनाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी नायव उपरीक्षक चिनीमाया तामाङले जानकारी दिइन् ।
टिकटक बनाउने क्रममा चिप्लिएर खोलामा लढेकी रबिनाले गत जेठ महिनाबाट त्यस विद्यालयमा जागिर सुरु गरेकी हुन् ।
रविना सुस्मिताकै घरमा डेरा बस्थिन् । रविनाका बुबा कमलप्रसाद भट्टराई र आमा लक्ष्मी भट्टराई भने विद्यालय छेउमै होटेल गर्छन् ।
सुस्मिता चाहिं कमल र लक्ष्मीकी एक्ली सन्तान हुन् ।
उक्त घटनापछि सुस्मिताको गाउँ नै शोकमा डुबेको गौखुरी माविका प्रधानाध्यापक विष्णु खापुङले बताए । त्यही होटेलमा बैंकका कर्मचारीहरूसमेत बस्ने गरेका थिए ।
‘शनिबार छुट्टी भएकाले सँगै होटेलमा बस्ने कर्मचारीहरू मिलेर तेह्रथुम हाइड्रो पावरको अफिसमा एनपिएल हेर्ने योजना बनाएर गएछन्,’ प्रअ खापुङले भने ‘मिससँगै सुस्मिता र अर्की एक विद्यार्थी पनि गएकी रहेछन् । अरू साथीहरू आइपिएल हेर्न थाले तर रविनासहित केही विद्यार्थी भिडियो फोटो खिच्न भनेर दहमा पुगेछन् ।’
स्थानीयका अनुसार खोलाको दहको बीचमा एउटा ठुलो ढुंगा छ । दहको दुई साइडमा भने पानी कम छ ।
फोटो भिडियो बनाउन त्यहाँ मानिसहरू चढ्ने गरेका छन् । स्थानीयले त्यसलाई टुनीदह भन्ने गरेका छन् । उक्त दह प्राकृतिक रूपमा बनेको हो ।
रबिना र सुस्मिता भने दहमाथिको ढुंगामा फोटो भिडियो खिच्न भनेर चढेका थिए । अनि, अर्की छात्रालाई खोला किनारबाटै फोटो भिडियो खिच्न अह्राएका थिए ।
तर, भिडियो बनाउने क्रममा दुवै जना लडेपछि अर्की छात्राले हल्ला गरेपछि घटना अरूले थाहा पाएका हुन् ।’
स्थानीयका अनुसार त्यहाँ सँगै गएका कर्मचारी पुग्दा सुस्मिताको शव देखिएको थिएन भने रविनाको शव पानीमा तैरीएको अवस्थामा थियो ।
शव निकाल्न भन्दै पसेका बैंकका एक कर्मचारीसमेत डुब्न थालेपछि स्थानीयले उनलाई भने बचाएका थिए ।
दहमा पसेपछि ती कर्मचारी पौडन नसकेर डुब्न लागेको बेला स्थानीयले उद्धार गरेको घट्ना स्थलमा पुगेका मेन्छ्यायेम गाउँपालिकाका सूचना अधिकारी ईश्वर भट्टराईले बताए ।
विद्यार्थीको आइतबार अन्त्येष्टि गरिएको थियो । नर्स रविनाको शव भने परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
डिएसपी तामाङले टिकटक बनाउने क्रममा दुवै जना चिप्लिएर दहमा पसेको बताइन् ।