दुःख र आपत पर्दा
म बा-आमालाई सम्झन्छु
भगवान्लाई सम्झन्छु
तर, किन सम्झिन्न शासकलाई ?
आफ्नै अगाडिबाट दिनहुँ
ओहोरदोहोर गरिरहने शासकभन्दा
कहिल्यै नभेटेको भगवान्
यतिबिघ्न प्यारो किन लाग्छ मलाई ?
कहीं कतै देख्या छैन आजसम्म –
भगवानविरुद्ध सडकमा निस्केको जुलुस
सुन्या छैन भगवानलाई तथानाम गाली गरेको
आस्थाको न्यायालयमा विपक्षी बनाएर
थाहा छैन भगवान्का नाममा मुद्दा हालेको ।
शासक सधैँ भगवान् हुन खोज्छ
हरेक दिन भगवानलाई जस्तै पुजून् भन्छ
साँझ-बिहान धुपबाती गरून् भन्छ
सडक किनारमा लस्करै उभिएर
शिर झुकाएर नमस्कार गरून् भन्छ
भक्तजनले झैँ प्रशंसाको भेटी चढाऊन् भन्छ
भोकभोकै बसेर आफ्नै भजन गाऊन् भन्छ
घरको भित्ताभरि आफ्नै तस्बिर टाँगून् भन्छ ।
साइरन बजाउँदै दिनदिनै
आधुनिक बस्तीको पुरानो सडकबाट
ओहोरदोहोर गरिरहन्छ शासक ।
तर, देख्दैन-
भोकले बेहोस् वृद्धाश्रम
दूधेबालक च्यापेर सडक किनारमा
मकै पोलिरहेकी महिला
बैसाखी टेकेर उभिएका वृद्धवृद्धा
बटुकामा भीख मागिरहेका बालबालिका
मेनपावर कम्पनीको गेटमा लामबद्ध देशका कर्णधार
अदालतअगाडि धर्नामा बसेका बलात्कृत चेली
बेपत्ता छोरो खोज्दै भौतारिरहेका बाबु
उपचारका लागि सहयोग माग्दै हिँडेको
जनयुद्धको घाइते युवक
सिमाना मिचेको विरोधमा निस्केको जुलुस ।
हो, भगवान् हुन खोज्छ सधैँ शासक
जो आफ्नाविरुद्ध कोही नबोलून् भन्छ
सडकका दुवै किनारमा उभिएर
बतासले समेत बजाएर ताली
गरोस् भन्छ भव्य स्वागत ।
ऋतुझैँ फेरिरहन्छ शासकको अनुहार
तर, किन फेरिँदैन मेरी आमाको अनुहार
किन फेरिँदैन देशको मुहार ?