आमा !
मलाई किन तिमीले
यो निकृष्ट संसारमा
सबैको नजर लाग्ने
फूल भएर सृष्टि दियौ ?
जहाँ कोपिला हुँदादेखि नै
कुदृष्टि हेरिनु मात्र नभएर
पाएसम्म निमोठेर
चुँडेर फाल्न मेरो
अस्तित्व हडप गर्न
लालायित मालीहरूको
भीडम्भीडले
मलाई झुक्काएर छुन खोज्छन् ।
भमराहरू सुगन्ध चहार्दै
रस चुस्न
कुन फूल
वा कोपिला पुग्ने हुन्
पत्तो हुँदैन
यहाँ हाम्रो
कदरभन्दा पनि
सौन्दर्यको वस्तु मान्नेहरू
केवल सुन्दरतालाई मात्र
प्राथमिकता राख्नेहरूले
हाम्रो अस्तित्व
र महत्त्व बुझेका छैनन् ।
केवल
उपभोग गर्न जानेका छन्
त्यसैले
आमा ! तिम्रो सुरक्षाको
घेराले मलाई
कहिलेसम्म सुरक्षित राख्न सक्छ ?
अनविज्ञ छु
जरजर्ताको भुमरीभित्र
हरेक पाइला
काँडाहरूबाट छिचोल्दै
कति दिन सुरक्षित
रहन सक्छु र आमा !
जुन दिन तिम्रो सुरक्षामा
फितलोपन आउँछ आमा !
तिम्रो बगानको यो फूल
लाचार
र निरीह भएर
अस्तित्वविहीन
र अपवित्र हुनेछे ।
चन्द्रागिरी ८ काठमाडौं