ताप्लेजुङ । कालो सुनको उपमा पाएको अलैंचीको मूल्य निरन्तर वृद्धि हुँदा प्रतिमन एक लाख रुपैयाँनजिक पुगेको छ ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा अलैंचीको मूल्य मन (४० किलोग्राम) को अर्थात् ९७ हजार रुपैयाँ पुगेको हो ।
स्थानीय व्यवसायी कमल बरालका अनुसार शनिबार प्रतिमन ९७ हजार रुपैयाँमा कारोबार भएको छ ।
ठुलो दाना, धुलो र पुच्छररहित गुणस्तरीय अलैंची उक्त मूल्यमा खरिदबिक्री भएको उनले जानकारी दिए ।
सामान्य अर्थात् चलनचल्तीको अलैंची भने प्रतिमन ९१ हजार रुपैयाँमा कारोबार भएको उनले बताए ।
व्यवसायीका अनुसार शुक्रबारसम्म अलैँचीको मूल्य स्थानीय बजारमा मनको ९० हजार रुपैयाँ रहेको थियो ।
प्रतिमन एक हजार र एक हजार पाँच सय रुपैयाँले वृद्धि हुँदै आएको अलैंचीको मूल्य यस पटक एकैचोटी ६ हजार रुपैयाँभन्दा बढीले वृद्धि भएको व्यवसायी बताउँछन् ।
यस वर्ष अलैंची बजारमा उपलब्ध हुन सुरु हुँदा नै मूल्य मनको ६० हजार रुपैयाँभन्दा माथि थियो ।
अलैँची बजारमा आउन थालेपछि मूल्य निरन्तर बढ्दै गएको अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीले जानकारी दिए ।
भदौको पहिलो सातादेखि बजारमा पाउन थालेको अलैँचीको मूल्य यस पटक सामान्य भए पनि निरन्तर बढिरहेको अध्यक्ष रेग्मीले बताए ।
अहिले अलैंची निस्कने क्रम पनि जारी रहेको छ ।
अलैँची ताप्लेजुङको प्रमुख नगदेबालीमा पर्दछ भने नेपालकै सबैभन्दा धेरै अलैँची उत्पादन हुने जिल्ला पनि हो ।
यहाँ करिब चार हजार पाँच सयभन्दा बढी हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ ।
उक्त खेतीबाट करिब तीन हजार मेट्रिक टन अलैँची उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्यांक रहेको छ ।
यता अलैँचीको मूल्य निरन्तर बढ्दै जाँदा स्थानीय किसान तथा व्यवसायी उत्साहित छन् ।