विराटनगर । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्तीको अवसरमा विराटनगमा निकालिएको धार्मिक र्यालीमा युवा नेता अभिषेक गिरीले पानी–विस्कुट वितरण गरेका छन् ।
मोहम्मद पैगम्बर जन्मोत्सवको रौनकले रंगीन बनेको विराटनगर आयोजित र्यालीमा आपसी भाइचारा, सद्भाव र एकताको सन्देश दिने प्रयास गिरीले गरेका हुन् ।
बिहानैदेखि परेको मध्यमवर्षाका बीच पानीमा रुझ्दै गिरी नेतृत्वको कोशी सुधार अभियानका सदस्यहरूले र्यालीमा सहभागी इस्लाम धर्मावलम्बीहरूलाई पानी, सर्वत र विस्किट वितरण गरे । हिन्दू–मुस्लिम सद्भाव कायमै राख्ने, धार्मिक एकता राख्ने प्रयासले र्यालीमा सहयोग गरेको उनको भनाइ छ ।
कोशी सुधार अभियान र गिरी फाउन्डेसनमार्फत धार्मिक सहिष्णुता कायम गर्ने प्रयासस्वरूप पानी-विस्किट वितरण गरिएको सुनाउँदै उनले धार्मिक तथा सांस्कृतिक आस्थामा आँच आउन नदिने कोसिस गरेको बताए ।
उनले भने, ‘पछिल्लो समय धर्मका नाममा एक-अर्कालाई भिडाउनेगरी समाजमा भ्रम छर्ने प्रयत्न भइरहेको छ । तर, धर्म भनेको सेवा हो, उदारता, प्रेम र सहअस्तित्व हो । यिनै कुरालाई दर्शाउने कोसिस गर्दै हामीले यहाँ पानी-विस्किट वितरण गरेका हौं ।’
आजको दिन नेपाली मुस्लिमसहित विश्वभरिका मुस्लिम धर्मावलम्बीले विभिन्न धार्मिक कार्यक्रम गरी मोहम्मद जयन्ती मनाउँदै आएका छन् । यसै अवसरमा झन्डासहितको हजारौंको संख्यामा विराटनगरका विभिन्न स्थानमा धार्मिक र्याली गरिएको थियो ।