रने चञ्चल स्वभावको बालक थियो। ज्ञानी पनि थियो। जिद्दी पनि थियो। दयालु पनि थियो। अर्थात् बाल सुलभ विशेषताहरू उसमा भरिपूर्ण थिए।
कक्षा ३ मा पढ्दाको कुरा हो, कक्षा शिक्षक ज्योति गुरुआमा अत्यन्तै मायालु र रमाइलो वातावरणमा कक्षामा अध्यापन गराउने स्वभाव थियो। उहाँले कक्षामा एउटा रमाइलो प्रसंग र प्रस्ताव ल्याउनुभयो।
कुरा के रहेछ भने – ज्योति गुरुआमाको घरमा एउटा निकै प्यारो कुकुरको छाउरो “फुर्के” रहेछ। त्यस छाउरोको फोटो देखाउँदै – कसैलाई मन पर्छ भने म भोलि ल्याइदिन्छु भन्नुभएछ। सबै बच्चाले चाहना व्यक्त गरे, तर छाउरो एउटामात्रै थियो। ज्योति गुरुआमाले बुद्धि लगाउनुभयो – जसले घरबाट आमासँग ‘फुर्के मेरो बच्चालाई दिइयोस्’ भनेर पत्र ल्याउँछ, फुर्के उसैलाई दिने भएँ।
रने निकै आशावादी भएर घर गयो। आमालाई सबै बेलिबिस्तार सुनाएर पत्र माग्यो। घरमा एउटा कुकुर र दुईवटा बिरालो पहिल्यै छँदैथिए। आमाले पत्र कोर्नुभएन। रने रोइकराइ जिद्दी गर्न थाल्यो। आमाले मायालु भावले सोध्नुभयो – बाबु तिम्रो कक्षामा कतिजना साथीहरू छन्? रनेले जवाफ दियो – २४ जना छौँ।
आमा खुशी हुनुभयो। आखिर सबै बच्चाले चिठी ल्याउँछन् र २४ जनामा रनेले नै छाउरो पाउने सम्भावना झिनो मात्रै थियो। बच्चालाई खुशी पार्न आमाले चिठी लेखिदिनुभयो।
अर्को दिन रने खुशी हुँदै घर आयो – आमा आमा फुर्के मेरै भयो! फुर्के मेरै भयो!
हँ के भन्छ यो? आमाले सोध्नुभयो – कसरी?
रने – किनकि अरु कसैले चिठी नै लगेनन्। अरूका आमा कति नजाती है।
आमा…. झण्डै बेहोस!