विराटनगर । प्रहरी प्रधान कार्यालयले कर्णालीको पुलको लट्ठा चुँडिएपछि पुल पार गर्दै गर्दा अड्किएका १३ वटा खच्चडको उद्धार गर्ने प्रहरीलाई नगदसहित पुरस्कृत गरेको छ ।
पुलकै बीचमा अड्किएपछि खच्चड उद्धारमा कुनै कसर नराखेका प्रहरी सहायक निरीक्षक रामसिंह फराल र प्रहरी हवल्दा गंगाराम चौधरी डगौरालाई नगदसहित पुरस्कृत गरिएको हो ।
गत आइतबार दिउँसो कर्णाली नदी माथिको झोलुङ्गे पुलमा खच्चड फसेको समाचार देशभर भाइरल भएको थियो ।
अछामको पञ्चदेवल विनायक नगरपालिका-९ कालेकाडाबाट दैलेखको आठविस नगरपालिका-४ खिड्किज्यूलामा खाद्यान्न लिन गएका १३ खच्चड झोलुङ्गे पुलको लट्ठा चुँडिएर फसेका थिए ।
इलाका प्रहरी कार्यालय कालेकाडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक रामसिंह फरालले आफूलाई जोखिममा राखेर भएपनि खच्चडलाई बचाएका थिए ।
लङलाइन गरेर (डोरीको सहायताबाट उद्धार) उद्धार गर्न सकिने प्रशस्तै व्यवस्था भएपनि राज्य स्तरबाट कुनै पनि सहयोग नभएपछि असई रामसिंहले पुलको बीचमा अड्किएका खच्चडको ज्यान बनाउन सफल भए ।
असई रामसिंह फरालको अगुवाइमा करिब पाँच घण्टा पछि खच्चडको उद्धार भयाे । पुलको जालीमा अड्किएका १३ मध्ये ११ खच्चडको उद्धार गरेपनि दुई वटा खच्चड पुलबाट खसेर मरेका थिए ।
उद्धारमा दर्शकका रूपमा जिल्लाका उच्च ओहोदाका कर्मचारीदेखि सर्वसाधारणकाे उपस्थिति थियो । अछाम र दैलेखबाट जनपथ प्रहरी, अछामबाट सशस्त्र प्रहरी र स्थानीयले उद्धारमा सहयोग गरेका थिए ।