कालिकोट । कालिकोटको कालिका माध्यमिक विद्यालय पिलीका प्रधानाध्यापक हंसबहादुर शाही विगत सात वर्षदेखि विद्यालयमा छैनन् ।
काठमाडौँमा बस्दै आएका उनले राज्य कोषबाट तलब भत्ता भने बुझ्न छाडेका छैनन् । विद्यालयको अभिलेखमा उनी आठ वर्षदेखि विद्यालयमा उपस्थित छैनन् ।
विद्यालय भने सहायक प्रधानाध्यापक खेमराज शाहीलाई जिम्मेवारी दिएका छन् ।
कानुनी रूपमा अहिले पनि हंसबहादुर शाही कालिका माविको प्रधानाध्यापक नै हुन् ।
कालिका माविका विद्यालय व्यवस्थापन समिति विद्यालयमा हाजिर नहुने भए राजीनामा दिन भने पनि अटेर गरेर तलब भत्ता लिँदै नेताको दबाब लगाउने गरेको पूर्वअध्यक्ष पुत्रबहादुर मल्लले बताए ।
कालिका माविको आधिकारिक प्रधानाध्यापक भएर सेवा सुविधा लिने गरिरहेका वडाध्यक्ष तथा विद्यालयका पदेन सदस्य दीपकराज कार्कीले बताए ।
‘राजीनामा दिनु भन्दा दिनुभएन, त्यसैले सट्टामा शिक्षक राखिएको हो,’ अध्यक्ष कार्कीको भनाइ छ,’सरुवा हुन भने पनि उहाँले अटेर गरेर उल्टै सट्टामा शिक्षक राख्न सुझाउनुभयो ।’
समितिले शाहीको सट्टामा सूर्यबहादुर मल्ल र सुनकेसा कार्कीलाई सट्टा शिक्षक राखेको छ ।
तलब भत्ता शाहीकै खातामा जाने र उनले सामान्य खर्चबाहेक अरू रकम नदिने गरेकाले सट्टा शिक्षक सूर्यबहादुर मल्ल र सुनकेस्रा कार्कीले सामान्य खर्चमा आफूले पढाउने नसक्ने अडान लिएपछि बल्ल गत वर्षबाट सट्टा शिक्षककै खातामा तलब जाने बनाइएको छ ।
विद्यालय व्यवस्थापन समिति र प्रशासनले शिक्षक शाहीको पेन्सन र सामाजिक भत्ता खातामा हाल्ने र बाँकी रकम सम्बन्धित सट्टा शिक्षकलाई दिने गरेको छ ।
तर यो कानुनविपरीतको कार्य भएको भन्दै स्थानीयहरूले विरोध जनाएका छन् । सट्टा शिक्षक राख्न नपाउने र सेवा अवधि बढाएर राज्यलाई नोक्सान बनाएको भन्दै तत्काल राजीनामा दिन माग गरेका छन् ।
खाँडाचक्र नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख जसिप्रसाद चौलागाईले ऐन कानुनमा सट्टा शिक्षक राख्न नपाउने र काम नगर्ने शिक्षकलाई कानुनी कारबाही सुरु गर्ने बताए ।
शिक्षक शाहीले महँगी, पोसाक भत्ता, चाडबाड खर्च सबै विद्यालयबाटै लिने गरेका छन् ।