विराटनगर । पाँचथरको फिदिम नगरपालिका-२ की विष्णुमाया तामाङको घरमा गत बुधबार राति चोर पस्यो । दराज खोलेर नगद र सुन चोरिरहेको थाहा पाएपछि तामाङले हार गुहार गरिन् ।
तत्काल आएका छिमेकीले चोरलाई बाहिर निस्कन नदिई बाहिरबाट ढोकाको चुकुल लगाएर प्रहरीलाई खबर गरे ।
२० मिनेट नपुग्दै घटनास्थल पुगेको प्रहरीले चोर समात्यो । चोर फिदिम-१ का २८ वर्षीय सुरेन योङया रहेछन् ।
दराज हेर्दा त्यहाँभित्र राखेको नगद १५ हजार र एक तोला सुनको टिल राखेको ठाउँमा थिएन । शरीर खानतलासी गर्दा पैसा भेटियो तर सुन भेटिएन ।
सायद सुन अन्तै कता राख्नुभएको थियो कि ? घटनास्थल पुगेएका प्रहरी निरीक्षक दिवस कुँवरले तामाङलाई सोधे ।
‘अन्त कतै राखेको छैन,मेरो राख्ने ठाउँ यही हो सुन यसैले चोरेको छ,’ तामाङले जवाफ फर्काइन् ।
अब प्रहरीले नाक, कान, मुख र मलद्वारसहित सम्भावित सबै अंगमा खानतलासी गर्याे । तर सुन कहीँ भेटिएन ।
‘सायद निल्यो कि ? भन्ने शंका लागेपछि अस्पताल लगेर एक्स–रे गर्दा त पेटभित्र पो देखियो,’ प्रहरी निरीक्षक दिवस कुँवरले भने ।
‘सुन आमाशयमा टाँसिएर बसेको सुन देखेपछि हिरासतमा राखेर निगरानी गर्यौं । चोरले दुई दिन त दिसा नै गरेन । अन्ततः ३६ घण्टापछि दिसासँगै सुन पनि निकाल्यो । धोइपखाली गरेर सुन पसलमा जोख्दा ठ्याक्कै एक तोला रहेछ,’ –कुँवरले भने ।
कुँवरका अनुसार सुन निले पनि योङ्याको स्वास्थ्यमा केही समस्या देखिएन । सुन र नगद चोर्ने योङ्याविरुद्ध अनुसन्धान गर्दै प्रहरीले आइतबार जिल्ला अदालतमा मुद्दा दर्ता गराएको छ ।
मंगलबार साँझ एक लाख ५० हजार रुपैयाँ धरौटी माग्दा बुझाउन नसकेपछि वैशाख २६ गते उनलाई पुर्पक्षका लागि पाँचथर कारागार पठाइएको छ ।
गरिबीका कारण चोरी गर्न बाध्य भएको योङयाले प्रहरी र अदालतमा दिएको बयानमा उल्लेख छ ।