विराटनगर । कोशी प्रदेश सरकारले महिनाको एकपटक धनकुटामा मन्त्रिपरिषद् बैठक बस्ने निर्णय गरेको छ । प्रदेश राजधानी विराटनगरबाहिर पहिलो पटक मंगलबार धनकुटामा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
कोशी प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईका अनुसार अब महिनाको एकपटक देव्रेवासस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्ने छ ।
तत्कालीन पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम धनकुटालाई प्रदेशको राजधानी नबनाएर विराटनगरलाई राजधानी तोकिएको भन्दै धनकुटावासी चर्को विरोधमा उत्रिएका थिए ।
आक्रोशित जिल्लावासीलाई शान्त पार्न प्रदेश सरकारले मुख्यमन्त्रीको सम्पर्क कार्यालय राखेको थियो ।
तर, सम्पर्क कार्यालयमा मुख्यमन्त्री नै नआउने र कार्यालय कामविहीन भएको गुनासो बढिरहेका बेला पहिलोपटक सोही कार्यालयमा मन्त्रिपरिषद् बैठक बसेको थियो ।