विराटनगर । ओमन पुर्याई जबरजस्ती वेश्यावृत्तिमा लगाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाल्पाको तिनाउ गाउँपालिका-५ ठेगाना भई काठमाडौं तारकेश्वर नगरपालिका-६ बस्ने ४० वर्षीय विष्णुबहादुर राना रहेका छन् ।
उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
राणाले ओमनमा आकर्षक तलब हुने घरेलु काममा पठाइदिनेलगायत विभिन्न प्रलोभन देखाई पीडितलाई २०८० भदौ २६ गते काठमाडौंबाट भिजिट भिसामा ओमनको मस्कट सहरमा पुर्याएका थिए ।
त्यहाँ जबरजस्ती वेश्यावृत्तिमा लगाई शारीरिक तथा मानसिक यातना दिएका थिए ।
पीडितले आफूलाई नेपाल फिर्ता गरिदिन अनुरोध गर्दा एजेन्टहरूले २ लाख ५० हजार माग गरेकोमा पीडितको आफन्तले उक्त रकम दिई पीडित नेपाल फर्कन सफल भएकोसमेत प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा वारदात पश्चात फरार रहेका रानालाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं बालाजुबाट पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत काठमाडौंबाट मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य अभियुक्तहरूको समेत प्रहरीले खोजी गरिरहेको छ ।