विराटनगर । ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा दुई समूहबीच भएको ग्याङ फाइटमा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनसरी जिल्लाको धरान घर भई हाल ढोलहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर जिल्ला घर भई हाल खुमलटार बस्ने ३० वर्षीय पुजन राई रहेका छन् ।
गए राति नौ बजेको समयमा दुई समूहबीच झडप हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदी जानकारी दिए ।
उनका अनुसार राति ११ बजे पाटन अस्पतालमा घाइतेलाई ल्याएपछि प्रहरीलाई जानकारी भएको थियो ।
तत्कालै घटनास्थलमा खटिएर केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको उनले बताए ।
ग्याङ फाइटको कारण खुल्न भने सकेको छैन ।
मृतकको शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले गए राति नै १८ जनालाई नियन्त्रणमा लिएको छ ।